निर्देशक नीर शाहको नयाँ फिल्म ‘कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा एक महिलाले सानो बालकलाई स्नेहपूर्वक अँगालोमा राखेको दृश्य समेटिएको छ, जसले आमाछोराबीचको माया, त्याग र भावनात्मक संघर्षलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ ।
मनोवैज्ञानिक तथा पारिवारिक कथावस्तुमा आधारित फिल्मको पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ यसको कथाप्रति चासो बढेको निर्माण पक्षको विश्वास छ । पोस्टरले फिल्मले गहिरो सामाजिक यथार्थ र मानवीय सम्बन्धको कथा प्रस्तुत गर्ने संकेत दिएको छ ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित यस फिल्ममा निर्देशक नीर शाह स्वयंले पनि अभिनय गरेका छन् । उनीसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडाको अभिनय रहेको छ ।
लामो अन्तरालपछि निर्देशनमा फर्किएका शाहले यस फिल्ममार्फत सामाजिक यथार्थ र पारिवारिक संवेदनालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेका छन् । फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको हो । यसको कार्यकारी निर्मातामा चैतन्यप्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी पुस्कर लामाले सम्हालेका छन् ।