नेपाली लोकसंगीतकी गायिका चन्द्रमाया जुग्जालीको नयाँ मौलिक कौरा गीत ‘मन पर्ने मायालु’ सार्वजनिक गरिएको छ । गीतको शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा वरिष्ठ लोकगायक खड्ग गर्बुजाले औपचारिक रूपमा विमोचन गरेका हुन् ।
गीतका शब्द, भाका तथा संगीत संयोजन सागर विरहीको रहेको छ भने स्वरमा सागर विरही, दीपिका बयम्बु मगर र चन्द्रमाया जुग्जालीले साथ दिनुभएको छ। यस्तै, गंगा थापा मगर, दुर्गा गापा र राम छन्त्यालले कोरस गायनमार्फत गीतलाई थप आकर्षक बनाएका छन्।
गीतको भिडियोमा कलाकार मनोज गुरुङ र लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन सागर विरहीले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेको हो । राजाराम सिंम्खडाको कोरियोग्राफी, सुरेश श्रेष्ठको सिनेमेटोग्राफी तथा निर्मला आचार्यको मेकअप रहेको भिडियो गोलढुंगा स्थित उज्वल कला कुटीमा छायांकन गरिएको हो । गीत चन्द्रमाया जुग्जालीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
विमोचन समारोहमा बोल्दै सर्जक सागर विरहीले म्याग्दीको मौलिक पहिचान झल्किने कौराहा सिर्जना गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले यस्ता मौलिक सिर्जनाले नेपाली लोकसंस्कृतिको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा म्याग्दी समाजसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
दुई दशकभन्दा बढी समयदेखि नेपाली लोकसंगीतमा सक्रिय सागर विरही गीत लेखन, गायन, संगीत संयोजन, निर्देशन तथा अभिनयमा बहुआयामिक प्रतिभाका रूपमा परिचित रहेकी छन् । । चन्द्रमाया जुग्जालीका यसअघि सार्वजनिक भएका ‘ज्यानकै बाजी भो’, ‘कान्छी माया’, ‘आमा’, ‘तगारो’ र ‘सरर रेलैमा’ लगायतका गीतले पनि दर्शक तथा श्रोतामाझ उल्लेखनीय लोकप्रियता हासिल गरेका छन्।