प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘गौँथली’ले प्रचार–प्रसारमा फरक र सिर्जनात्मक शैली अपनाएको छ। चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका विभिन्न स्थानमा पुग्दै दर्शकसँग प्रत्यक्ष संवादमा सहभागी भइन् ।
चलचित्रमा निभाएको पात्रकै पहिरन र रूपमै सडकमा देखिएकी सिम्रनले काठमाडौंको वसन्तपुर र ललितपुरको पाटन क्षेत्रमा दर्शकसँग भेटघाट गर्दै ‘गौँथली’ हेर्न आग्रह गरिन् । व्यस्त सडकमा डोकोमा घाँस बोकेर हिँडिरहेकी उनलाई देखेर धेरै सर्वसाधारण उत्सुक बनेका थिए । कतिपयले उनीसँग सेल्फी खिचे भने चलचित्रबारे जानकारी पनि लिए ।
निर्माण टिमका अनुसार प्रचार अभियानअन्तर्गत सिम्रनले दुई हजारभन्दा बढी दर्शकसँग प्रत्यक्ष भेट गर्दै चलचित्रको कथा, विषयवस्तु र प्रदर्शन मिति समेटिएको ब्रोसर वितरण गरेकी थिइन् ।
अभिनेत्री सिम्रन खड्काले दर्शकमाझ प्रत्यक्ष पुग्दा अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको बताइन् । उनका अनुसार धेरै दर्शकले चलचित्रको ट्रेलर र अन्तर्वार्ता हेरेपछि ‘गौँथली’ हेर्ने निर्णय गरिसकेको बताएका छन् । केही दर्शकले भने चलचित्र प्रदर्शन भइसकेको ठानेर हलमा पुग्दा प्रदर्शनमा नरहेको अनुभवसमेत सुनाएको उनले जानकारी दिइन् ।
निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेपछि यसको चर्चा थप बढेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन् । चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको छ ।