नेपाली सांगीतिक बजारमा नयाँ मौलिक लोकदोहोरी गीत ‘मदनले झैँ मुनालाई’ सार्वजनिक गरिएको छ । माया, विछोड र नेपाली समाजको जीवन्त यथार्थलाई समेटेर तयार पारिएको गीत दर्शक तथा श्रोतामाझ ल्याएको हो ।
राजधानीमा आयोजित विशेष समारोहमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष तथा चर्चित गायक कुलेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यमा गीतको भिडियो सार्वजनिक गरिएको हो । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा कला, संगीत तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
गीतमा गायक प्रताप दास र गायिका सुष्मा लोहनीको स्वर रहेको छ । सुष्मा लोहनीको प्रस्तुतिमा तयार भएको गीतमा रायन बस्यालले शब्द, संगीत, कथा तथा भिडियो निर्देशनको जिम्मेवारी सम्हालेका छन् । संगीत संयोजन (एरेन्ज) कृष्ण विक ‘भान्जा’ले गरेका हुन् ।
भिडियोमा रायन बस्याल, सन्जना गुरुङ र गायिका सुष्मा लोहनीको अभिनय देख्न सकिन्छ । गीतमार्फत प्रेम, विछोड र नेपाली समाजका भावनात्मक पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुलेन्द्र विश्वकर्माले ‘मदनले झैँ मुनालाई’ले नेपाली लोकसंगीतको मौलिकता र मर्मलाई प्रभावकारी रूपमा उजागर गरेको बताए । कार्यक्रमका सभापति तथा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता सिर्जनाको महत्त्व रहेको बताए ।
गीत हाल विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको छ । निर्माण पक्षका अनुसार मौलिक विषयवस्तु, सशक्त प्रस्तुति र अनुभूतिपूर्ण संगीतका कारण गीतले दर्शक तथा श्रोताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।