मनोरञ्जन क्षेत्रमा अत्याधुनिक प्रविधिको नयाँ आयाम थप्दै सुनसरीको इटहरीमा नेपालकै पहिलो १८डी (18D) सिनेमा सञ्चालनमा आएको छ । इटहरीस्थित सेन्टर प्लाजामा स्थापना गरिएको उक्त सिनेमाको उद्घाटन लोकप्रिय अभिनेता पल शाहले विशेष समारोहका बीच गरेका हुन् ।
१८डी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको यो सिनेमाले परम्परागत चलचित्र हलभन्दा फरक अनुभव दिने लक्ष्य राखेको छ । दर्शकलाई केवल दृश्य हेर्ने मात्र नभई हल्लिने सिट, विशेष ध्वनि, हावाको प्रभाव, कम्पन तथा अन्य अत्याधुनिक प्रविधिमार्फत वास्तविक अनुभूति दिलाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
सञ्चालक उमेश घोरासाइनेका अनुसार वयस्कतर्फ एकैपटक १२ जना र बालबालिकातर्फ १५ जनासम्मले एकै समयमा मनोरञ्जनको अनुभव लिन सक्ने क्षमता रहेको छ । प्रत्येक अनुभवका लागि टिकट शुल्क ३५० रुपैयाँ निर्धारण गरिएको उनले बताए ।
यस सिनेमामा जंगल सफारी, रोबोटको संसार, समुद्री जीवको रोमाञ्चक यात्रा, डर लाग्दा दृश्य, डायनासोरको संसारलगायत १७ प्रकारका फरक–फरक भर्चुअल अनुभव समावेश गरिएको छ । आधुनिक प्रविधिमा आधारित यी आकर्षणले विशेषगरी बालबालिका, युवा तथा परिवारलाई नयाँ किसिमको मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।
सिनेमा हरेक दिन बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ । पाँच वर्षभन्दा माथिका बालबालिकाले अभिभावकको साथमा सुरक्षित रूपमा मनोरञ्जन लिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अभिनेता पल शाहले नेपालमा आधुनिक मनोरञ्जन प्रविधिको विस्तार हुनु सकारात्मक संकेत भएको बताए । उनले यस्ता परियोजनाले पारिवारिक मनोरञ्जनसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कम्पनीले इटहरीपछि बिर्तामोड र इलाममा पनि १८डी सिनेमा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । आगामी दिनमा देशका अन्य प्रमुख सहरमा समेत यस्तो मनोरञ्जन सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक घोरासाइनेले जानकारी दिए ।
आधुनिक प्रविधिप्रति नेपाली दर्शकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको यो १८डी सिनेमाले पूर्वी नेपालको मनोरञ्जन क्षेत्रमा नयाँ सम्भावना र अनुभवको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।