निर्देशक डा. कपिल रिजालको चलचित्र ‘गौँथली’ले प्रदर्शनअघि नै सकारात्मक प्रतिक्रिया बटुलेको छ । सोमबार काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्समा आयोजित प्रिमियर शोमा चलचित्र हेरेका दर्शक, कलाकार तथा चलचित्रकर्मीले यसको कथा, प्रस्तुति र कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।
प्रिमियरमा सहभागी अधिकांशले ‘गौँथली’ले नेपाली ग्रामीण समाजको यथार्थलाई संवेदनशील ढंगले पर्दामा उतारेको प्रतिक्रिया दिएका छन् । विशेषगरी २०६० सालअघि नेपाली समाजमा धेरै महिलाले भोग्नुपरेका पारिवारिक संघर्ष र सामाजिक यथार्थलाई चलचित्रले जीवन्त रूपमा प्रस्तुत गरेको भनाइ छ ।
चलचित्रमा सासु–बुहारीबीचको सम्बन्ध, जानेर वा नजानेर हुने व्यवहारले परिवार र व्यक्तिको जीवनमा पार्ने असरलाई मार्मिक ढंगले चित्रण गरिएको भन्दै निर्देशक डा. कपिल रिजालको निर्देशनको प्रशंसा गरिएको छ । कथा, प्रस्तुति र भावनात्मक पक्षले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने क्षमता रहेको प्रतिक्रिया प्रिमियरमा सुनिएको थियो ।
करिब २ घण्टा २० मिनेट लामो चलचित्र कतै पनि बोझिलो नलाग्ने र कथाको प्रवाहले दर्शकलाई निरन्तर आकर्षित गरिराख्ने भन्दै उपस्थितहरूले निर्माण टोलीलाई बधाई दिएका छन् ।
चलचित्रमा अटिजम भएका पात्रको भूमिकामा देखिएका अरुण क्षेत्री र बुहारीको चरित्र निर्वाह गरेकी सिम्रन खड्काको अभिनय विशेष रूपमा प्रशंसित भएको छ । दुवै कलाकारले आफ्नो भूमिकामा जीवन्त अभिनय प्रस्तुत गरेको प्रतिक्रिया अधिकांश दर्शकले दिएका छन् ।
प्रिमियरमा अग्रजदेखि नयाँ पुस्तासम्मका कलाकार तथा चलचित्रकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो । कलाकार कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी, पत्रकार प्रकाश सुवेदीलगायतले चलचित्रले तत्कालीन नेपाली समाजको वास्तविक चित्र प्रस्तुत गरेको भन्दै यसको सफल प्रदर्शनको शुभकामना दिएका छन् ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् ।
डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार पारेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।