नयाँ नेपाली फिल्म ‘मास्टर्नी’ले आफ्नो प्रमोसनलाई तीव्र बनाउने क्रममा नयाँ प्रचारात्मक गीत सार्वजनिक गरेको छ । दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको उक्त गीतमा गायिका वविना किरातीले समेत स्वर दिएकी छन् । दुर्गेशले अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीलाई उपहारस्वरूप यो गीत फिल्मको प्रचारका लागि उपलब्ध गराएको जनाइएको छ ।
प्रदिप लामाको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देललाई आकर्षक प्रस्तुतिमा देख्न सकिन्छ । भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका हुन् ।
आयंका फिल्म्सको प्रस्तुति रहेको ‘मास्टर्नी’ मा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता रहेका छन् । फिल्ममा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुप विक्रम शाही, दिनेश काफ्ले लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान थापाले तयार गरेका छन् । सार्वजनिक गरिएको प्रमोसनल गीतले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाउने विश्वास निर्माण पक्षले लिएको छ । यस चलचित्र आगामी भदौ ५ गते देखी प्रदर्शनको तयारीमा रहेको छ ।