नीता ढुङ्गानाको निर्देशनमा बनेको नेपाली फिल्म ‘पार्वती’को गीत ‘नौतुना रेलैमा’ सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो बनिसकेका छन् । टिकटकसँगै फेसबुक र युट्युबलगायत विभिन्न प्लेटफर्ममा पनि गीतले राम्रो लोकप्रियता बटुलिरहेको छ ।
गीतको लोकप्रियतालाई थप प्रोत्साहन गर्न निर्माण टिमले ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ आयोजना गरेको थियो । प्रतियोगिता अन्तर्गत सहभागीले गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्ने व्यवस्था गरिएको थियो । उत्कृष्ट तीन जनालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार तथा पाँच जनालाई फिल्मको निःशुल्क टिकट प्रदान गरिने घोषणा गरिएको छ । विजेता भिडियोको गुणस्तर र प्राप्त भ्युजका आधारमा छनोट गरिने जनाइएको थियो ।
गीतको भिडियोमा नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य देख्न सकिन्छ । विवाहको रत्यौली संस्कृतिलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको भिडियोमा दीपाश्री पुरुषको भेषमा र नीता परम्परागत महिलाको पहिरनमा देखिएकी छन् ।
नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको ‘पार्वती’मा उनी स्वयं मुख्य भूमिकामा छन् । फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।
शिवम् अधिकारीको पटकथा, सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेका छन् ।
नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको ‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । गीतको बढ्दो लोकप्रियताले फिल्मप्रति दर्शकको उत्सुकता पनि थप बढाएको निर्माण पक्षको विश्वास छ ।