आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा काठमाडौं र मोफसलका अधिकांश मल्टिप्लेक्स हलहरूले मंगलबारदेखि शो सार्वजनिक गर्दै टिकट बिक्री सुरु गरेका हुन् ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित आइएनआई, वान सिनेमाजलगायतका हलहरूले शुक्रबारका लागि शो निर्धारण गरिसकेका छन् । वितरक करण श्रेष्ठ ‘क्रेजी’का अनुसार देशभरका हलहरूमा शो थप्ने क्रम जारी रहेकाले बुधबारसम्म चलचित्रले २०० भन्दा बढी शो पाउने अपेक्षा गरिएको छ ।
प्रिमियर प्रदर्शनपछि चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ । कथा, प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा भएको भन्दै यसको प्रभाव बक्स अफिसमा पनि सकारात्मक पर्ने विश्वास निर्माण टिमले गरेको छ ।
डा. कपिल रिजाल निर्देशित चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन् । डा. भोला रिजालको कथामा बनेको चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार पारेका हुन् । हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्दैछन् ।