नेपाली लोकसंस्कृतिको प्रतीक सारंगीको धुनलाई आधुनिक सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित चलचित्र ‘अधुरो धुन : समयको सारंगी’ निर्माण हुने भएको छ । पार्टटाइम कलेक्शन फिल्म प्रा.लि.को ब्यानरमा बन्ने चलचित्रको कथा, पटकथा, गीत–संगीत तथा निर्देशन वेदप्रसाद भुर्तेलले गर्नेछन् ।
निर्माण टोलीका अनुसार चलचित्रका गीत–संगीतमा नेपाली लोकलय, गन्धर्व परम्पराको सारंगी, पश्चिमी सिनेम्याटिक ओपेरा, अर्केस्ट्रा, ग्राण्ड पियानो, भायोलिन, सिनेम्याटिक कोयर र आधुनिक साउण्ड डिजाइनको संयोजन गरिनेछ । हाल गीतहरूको लाइभ इन्स्टुमेन्ट रेकर्डिङ अन्तिम चरणमा पुगेको छ ।
चलचित्रमा एएमटी थापा, टिकाराम कट्टेल र रत्ना बिष्टको लगानी रहनेछ भने होटल डभोटी धनगढी आतिथ्य साझेदारका रूपमा रहनेछ । मुख्य सहायक निर्देशक नवराज शर्मा हुन् । संगीत संयोजन फरिन्द्र राई र महाराज थापाले गर्नेछन् ।
चलचित्रमा अमृत थापा, आहाना साउथ, विनय ढुंगाना, परिधि दाहाललगायत कलाकारको अभिनय रहनेछ । यसको छायांकन धनगढीदेखि पश्चिम नेपालको बडीमालिका क्षेत्रसम्म गरिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रले गन्धर्व सभ्यता, गुरु–शिष्य परम्परा, पारिवारिक सम्बन्ध, पहिचान र आफ्नो अस्तित्व खोज्ने मानवीय यात्रालाई केन्द्रमा राख्ने निर्माण पक्षको भनाइ छ ।