निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘रातो घेरा–द रेड सर्कल’ को छायांकन भक्तपुरबाट सुरु भएको छ । विश्राम फिल्मस् प्रालिको प्रस्तुति रहेको फिल्मको पहिलो चरणको छायांकन ३० दिने तालिकाअनुसार भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक स्थलमा भइरहेको निर्माण पक्षले जनाएको छ ।
जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन निर्माताका रूपमा रहेका फिल्ममा सुमन गुरुङ र खेम राना सह–निर्माता छन् । वास्तविक घटनाबाट प्रेरित कथामा आधारित भएकाले छायांकनदेखि कलाकारको अभिनयसम्म स्वाभाविकपनलाई प्राथमिकता दिइएको निर्देशक अनिल बुढा मगरले बताएका छन् ।
फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । उनीहरूसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी।बी। गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी र सुनिल तामाङको अभिनय रहनेछ ।
राजु स्याङताङको कथा तथा पटकथा रहेको फिल्ममा शिशिर बिसंखे छायाकार छन् । मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ र शिव हमालका गीत तथा मनोज थापा मगरकै पाश्र्व संगीत रहेको फिल्मको सम्पादन जीवन थापाले गर्दैछन् ।
काफिया फिल्म्सले वितरण गर्ने ‘रातो घेरा–द रेड सर्कल’ आगामी मंसिर १८ गते देशभर प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।