उडान स्टुडियोको प्रस्तुतिमा निर्माण हुन लागेको नेपाली फिल्म ‘आशा’ को छायांकन सुरु भएको छ। एक महिनाको कार्यतालिका तय गर्दै फ्लोरमा गएको फिल्मको पहिलो दिनको छायांकन काठमाडौं उपत्यकामा गरिएको हो। प्रारम्भिक केही दिन राजधानीमा छायांकन गरेपछि बाँकी दृश्य नमोबुद्ध र धुलिखेल आसपास खिचिने निर्मात्री शर्मिला थापाले जानकारी दिइन् ।
उनका अनुसार निर्धारित योजनाअनुसार छायांकन अघि बढाइएको छ र साउन महिनाभित्र सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाली मौलिक कथालाई प्राविधिक रूपमा उत्कृष्ट ढंगले प्रस्तुत गर्दै दर्शकमाझ ल्याउने तयारी भइरहेको उनले बताइन् ।
छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनालीसँगै बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारी क्यामेरामा उत्रिएका थिए । फिल्ममा शुशांकका साथै महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मी लगायत कलाकारहरूको अभिनय रहनेछ ।
फिल्मको निर्देशन राजीव गुरुङले गरिरहेका छन्। कथा पनि स्वयं गुरुङकै रहेको फिल्मले मनोरञ्जनसँगै अर्थपूर्ण सन्देश दिने उनको भनाइ छ । उनले फिल्मलाई पूर्ण समर्पणका साथ तयार पारिरहेको बताए ।
फिल्ममा रामकुमार श्रेष्ठ सहलेखक, सुदाम सिके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक, नरेन्द्र मैनाली सिनेम्याटोग्राफर, युग भुसाल र समीर खरेल संगीतकार, किशोर आचार्य साउण्ड डिजाइनर, लोकेश बज्राचार्य सम्पादक तथा सोनाली शिल्पकार मेकअप तथा हेयर आर्टिस्टको रूपमा आबद्ध छन् ।