वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ । भदौ दोस्रो सातादेखि छायांकन सुरु हुने यस चलचित्रको डिजिटल अधिकार प्रतिष्ठित डिजिटल कम्पनी ओएसआर डिजिटलले ठूलो रकममा खरिद गरेको निर्माण पक्षले जनाएको छ।
निर्देशक मिलन चाम्सले यो सम्झौता मदनकृष्ण श्रेष्ठको लोकप्रियता र ब्रान्ड भ्यालुको परिणाम भएको बताए । उनका अनुसार ओएसआरले नेपाली चलचित्र इतिहासमै बायोपिक चलचित्रका लागि अहिलेसम्मकै उच्च मूल्यमा डिजिटल अधिकार खरिद गरेको हो ।
७६ वर्षीय मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको लामो सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका संघर्ष, सफलता र उतारचढावलाई समेटेर चलचित्र निर्माण गरिनेछ । नेपाली चलचित्रमा कुनै अभिनेताकै जीवनमा आधारित बायोपिक बन्न लागेको यो पहिलो अवसर मानिएको छ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नी यशोदाको भूमिका केकी अधिकारीले निर्वाह गर्नेछिन् । हरिवंश आचार्यको भूमिका कसले निभाउने भन्ने विषय भने निर्माण टोलीले हालसम्म गोप्य राखेको छ । साथै, राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन् । यम थापाले कथा तथा पटकथा लेखेका छन् भने डीओपीमा बाबु श्रेष्ठ, सम्पादनमा मिलन श्रेष्ठ, ब्याकग्राउन्ड म्युजिकमा अलिश कार्की र साउन्ड डिजाइनमा भरत कँडेल रहेका छन् ।
भदौ दोस्रो सातादेखि फ्लोरमा जाने ‘म मदनकृष्ण’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् ।