निर्देशक डा. कपिल रिजालको चलचित्र ‘गौँथली’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ । चलचित्रले देशभरका हलमा २०० भन्दा बढी शो पाएको छ भने निर्माण टिमले उत्साहजनक व्यापारको अपेक्षा गरेको छ ।
प्रदर्शनअघि आयोजित प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको थियो । कथा, अभिनय र प्रस्तुतिको प्रशंसा गर्दै दर्शकले राम्रो प्रतिक्रिया दिएपछि त्यसको प्रभाव बक्स अफिसमा पनि देखिने निर्माण पक्षको विश्वास छ ।
निर्देशक कपिल रिजालले प्रिमियरमा जस्तै आम दर्शकले पनि चलचित्रलाई मन पराउने अपेक्षा व्यक्त गरेका छन् । उनका अनुसार चलचित्रले सबै वर्गका दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण टिममा छ ।
प्रदर्शनको पहिलो दिन नै केही हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । बिहीबार साँझका अग्रिम शोहरूमा पनि राम्रो अकुपेन्सी देखिएकाले चलचित्रले सकारात्मक सुरुआत गर्ने संकेत मिलेको निर्माण पक्षको दाबी छ ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली पनि चलचित्रमा देखिएका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको ‘गौँथली’का कार्यकारी निर्माता सरला रिजाल हुन् । चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन् । हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।