नेपालकै चर्चित र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच ३’ले उत्कृष्ट १० प्रतिस्पर्धी छनोट गरेको छ । हजारौँ डिजिटल आवेदन र देशका विभिन्न सहरमा सम्पन्न अडिसनपछि अन्तिम १० प्रतिस्पर्धीले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
टप १० मा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी परेका छन् । डिजिटल अडिसनसँगै पोखरा, बुटवल, इटहरी, काठमाडौं तथा भारतको सिलिगुडीमा पनि फिजिकल अडिसन सञ्चालन गरिएको थियो । त्यसपछि विभिन्न चरण पार गर्दै उनीहरू अन्तिम १० सम्म पुग्न सफल भएका हुन् ।
छनोट भएका प्रतिस्पर्धीहरूले आ–आफ्नै मौलिक शैली, दमदार फ्लो, सिर्जनात्मक लेखन र प्रभावशाली स्टेज प्रस्तुति मार्फत निर्णायक र दर्शकको मन जित्दै आएका छन् । अबका एपिसोडमा उनीहरूबीचको प्रतिस्पर्धा अझ रोचक र कडा हुने अपेक्षा गरिएको छ ।
रेड बुलको प्रस्तुतिमा दामी मिडियाले निर्माण गरिरहेको ‘नेपहपको श्रीपेच ३’ ले नेपाली हिपहप क्षेत्रमा नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च उपलब्ध गराउँदै आएको छ । कार्यक्रम हरेक मङ्गलबार र बुधबार एपी वान टेलिभिजन तथा ओएसआर रियालिटीमार्फत प्रसारण हुँदै आएको छ ।
यस सिजनको विजेताले नगद १० लाख रुपैयाँ, वर्ल्ड टुरको अवसर तथा विभिन्न ब्रान्ड इन्डोर्समेन्ट प्राप्त गर्नेछन् । यस्तै, उपविजेताले ५ लाख रुपैयाँ नगदसँगै विदेशमा प्रस्तुति दिने अवसर पाउनेछन् । कार्यक्रममा भ्योमा, मानस घले, यूएनडीबी र योद्धा निर्णायकको भूमिकामा छन् ।