ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा तीन वर्षपछि अत्याधुनिक स्वरूपमा पुनः सञ्चालनमा आएको छ । २०५२ सालदेखि सञ्चालनमा रहेको यो सिनेमा नयाँ भवन निर्माणका लागि २०७९ सालमा बन्द भएको थियो। अब साउन १ गतेदेखि ८ वटा स्क्रिनसहित दर्शकमाझ फर्किएको हो ।
बिहीबार आयोजित कार्यक्रममा गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र (दिजेन्द्र) शाक्यले नयाँ भवन निर्माणका कारण केही वर्ष दर्शकलाई असुविधा भएको उल्लेख गर्दै अब थप एक हलसहित अझ उत्कृष्ट सेवा दिन तयार रहेको बताए । उनका अनुसार दर्शकले आफ्नो रोजाइअनुसार नेपाली तथा विदेशी चलचित्र अत्याधुनिक प्रविधिसहित हेर्न सक्नेछन् ।
क्युएफएक्सको व्यवस्थापनमा सञ्चालन हुने नयाँ गुण सिनेमामा ४१ देखि २६० सिट क्षमताका ८ वटा स्क्रिन छन् । हलहरूमा जिडिसी सर्भर, जेबीएल स्पिकर, डीटीएस–एक्स साउन्ड, एआईबी ३००० इमर्सिभ साउन्ड सिस्टम, बार्को टुके लेजर प्रोजेक्टर र गालालाइट सिल्भर स्क्रिन जडान गरिएको छ। साथै प्रिमियम सोफा सिट, पूर्ण एयर कन्डिसन, आरामदायी लबी तथा हिमालयन जाभाको कफीसहित विभिन्न खाद्य परिकारको व्यवस्था गरिएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अत्याधुनिक सुविधा र प्रविधिसहित गुण सिनेमाको पुनः सञ्चालनले नेपाली चलचित्र उद्योगलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे । चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले नयाँ स्वरूपको गुण सिनेमाले चलचित्र बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । क्युएफएक्सका प्रमुख नकिम उद्दिनले दरबार सिनेम्याक्सपछि गुण सिनेमासँग सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै गुण सिनेमा सधैं गुणस्तरीय सेवाको पर्याय रहेको बताए ।
यसअघि एउटै भवनमा ७ वटा हल सञ्चालन गर्दै आएको गुण सिनेमा उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका दर्शकमाझ पनि लोकप्रिय थियो। निर्माता छविराज ओझाले गुण सिनेमा पुनः सञ्चालनमा आएसँगै नेपाली चलचित्रको व्यापारका लागि सुनौलो समय फेरि फर्किने विश्वास व्यक्त गरे ।
२०७९ वैशाखदेखि दरबारमार्गमा दरबार सिनेम्याक्स सञ्चालन गर्दै आएको गुण सिनेमा प्रा.लि.ले ग्वार्को शाखामा पुनः सेवा सुरु गरेको हो । उद्घाटनसँगै नेपाली फिल्म ‘गौँथली’, हिन्दी फिल्म ‘धमाल ४’ र हलिउड फिल्म ‘द ओडिसी’ प्रदर्शनमा आएका छन् ।