नेपाली फिल्म ‘हली’को नयाँ गीत ‘कहाँबाट ल्याउ बाबा पिडाभुल्ने मुटु’ सार्वजनिक गरिएको छ । बुबा–सन्तानबीचको भावनात्मक सम्बन्ध र कठिन परिस्थितिमा सन्तानले व्यक्त गर्ने पीडालाई केन्द्रमा राखेर तयार पारिएको यो गीतले दर्शकको मन छुने अपेक्षा गरिएको छ ।
गीतका शब्द फिल्मका अभिनेता प्रमोद दीपले लेखेका हुन् भने संगीत अभि सुनारको रहेको छ । चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको गीतको भिडियोमा फिल्मका कलाकारहरूको भावपूर्ण अभिनय देख्न सकिन्छ ।
पूजा गुरुङ र जस्मिन श्रेष्ठ निर्मित फिल्मको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन् । फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीसहित निर्देशक ओम प्रतीक स्वयं मुख्य भूमिकामा देखिएका छन् ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा बनेको ‘हली’ले देशमा परिवर्तनका लागि एउटा ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश बोकेको छ । फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ भने जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीतमा रहेको अर्को गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन् । राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यस फिल्म आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।