अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ । निर्माण टिमले चलचित्रको प्रचार अभियानअन्तर्गत गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ र माओत्से गुरुङलगायत कलाकारको प्रस्तुति देख्न सकिन्छ । गुरुङ समुदायको मौलिक संस्कृति, भेषभूषा र जीवनशैलीलाई समेटिएको गीतले प्रेम, समर्पण र जीवनभर सँगै रहने प्रतिबद्धताको भावलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । साथै, चलचित्रको कथावस्तु, ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र पात्रहरूको जीवनयात्राको झलक पनि गीतमार्फत देखाइएको छ ।
हर्क साउदको शब्द रहेको गीतमा मनोज थापा मगरको संगीत तथा सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर रहेको छ । कमलबहादुर गुरुङले कोरियोग्राफी गरेको गीतमा सञ्जीव बराइली (गितार), पोषण मगर (मादल), रत्न विश्वकर्मा (बाँसुरी) र मनीष गन्दर्ब ९सारङ्गी०को वादन रहेको छ भने मिक्सिङ जन्रिक्सले गरेका छन् ।
निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ आशा, संघर्ष र मानवीय संवेदनामा आधारित कथा हो, जसले लक्ष्य प्राप्तिका लागि मानिसले गर्नुपर्ने संघर्षलाई चित्रण गर्छ ।
चलचित्रमा पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको चलचित्रको कथा र निर्देशन स्वयं गुरुङकै हो । चलचित्रमा सुशन प्रजापतिको छायांकन, नेमिश श्रेष्ठ र केर डी. कोइच लिनुचको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन, नवीन श्रेष्ठको सिन्क साउन्ड, मनोज श्रेष्ठको भीएफएक्स तथा राजु याक्चाको कला निर्देशन रहेको छ ।
मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ निर्माताका रूपमा रहेका चलचित्रको वितरण अधिकार आरआर फिल्म्ससँग छ । निर्माण पक्षका अनुसार चलचित्रको प्रदर्शन अधिकार हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा बिक्री भइसकेको छ भने अन्य देशसँग पनि प्रदर्शनबारे छलफल भइरहेको छ ।
हरितालिका तीजको अवसर पारेर भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ ले ग्रामीण जीवन, प्रेम, त्याग, पारिवारिक सम्बन्ध र मानवीय संवेदनाको कथा दर्शकमाझ प्रस्तुत गर्ने निर्माण टिमको विश्वास छ ।