नेपाली चलचित्र ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो । हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ ।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा चलचित्रका प्रमुख कलाकार नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापालगायत फिचर्ड छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
गीत सार्वजनिक कार्यक्रममा गायक राजनराज शिवाकोटी र गायिका रचना रिमालले गीतको केही अंश प्रस्तुत गर्दै माहोल तताएका थिए । कार्यक्रममा राजनराजले आफूले पहिलोपटक कुनै गीतमा केवल स्वर दिएको अनुभव सुनाए भने रचनाले राजनराजसँगको यो आफ्नो पहिलो पार्श्वगायन रहेको बताइन् । अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको चलचित्र आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट र सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा निर्माण भएको चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन ९खबपु०, सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायत कलाकारको अभिनय रहेको छ ।
कार्यक्रममा अभिनेत्री नीति शाहले ‘जदौ’ अहिलेका चलचित्रभन्दा फरक र यथार्थपरक कथामा आधारित रहेको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । अभिनेता मुकुन भुसालले आफूलाई यस फिल्ममा वास्तविक पात्रको रूपमा देख्न पाइने बताए भने प्रभातपाल ठकुरीले चलचित्र आफ्नो करिअरका लागि विशेष रहेको उल्लेख गरे । यही चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी राजश्री थापाले पनि आफ्नो पहिलो प्रयासलाई दर्शकले रुचाउने अपेक्षा व्यक्त गरिन् ।
निर्देशक अन्जन शर्माले उत्कृष्ट चलचित्र निर्माणका लागि कुनै कसर बाँकी नराखिएको बताए । सहनिर्देशक तथा लेखक काजी लिम्बुले चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने दाबी गरे ।
श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको चलचित्रका सहनिर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन् । सृजना शर्मा र मनिष शर्मा निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता शान्ति पुडासैनी हुन् भने बिमला भण्डारी प्रोडक्सन हेड रहेकी छन् । चलचित्रको देशव्यापी वितरण एनजिसिएन ग्रुपले गर्नेछ ।