शिक्षा प्रणाली र विद्यार्थी जीवनको यथार्थ कथा प्रस्तुत गर्ने चलचित्र ‘रोल नं १’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले देशभरका आधा दर्जनभन्दा बढी हलमा सफलतापूर्वक ५१औँ दिन मनाएको निर्माणपक्षले जनाएको छ ।
निर्माण टिमका अनुसार कीर्तिपुर सिनेप्लेक्स (कीर्तिपुर), शुभकामना सिनेमा (बनेपा), एसटीएस इन्टरटेन्मेन्ट (धनगढी), इलाइट सिनेमा (इटहरी), कावासोती सिनेमा (कावासोती), विराट सिनेमा (विराटचोक) र फ्रेन्ड्स सिनेमा (इलाम)मा चलचित्रले निरन्तर प्रदर्शन कायम राखेको छ ।
बक्स अफिसमा पनि चलचित्रले सन्तोषजनक व्यापार गरिरहेको छ । गत आइतबारसम्म यसले १ करोड ७७ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको निर्माणपक्षको दाबी छ ।
दर्शकको पहुँच बढाउने उद्देश्यले असारको पहिलो सातादेखि चलचित्रको टिकटमा ५० प्रतिशत छुट दिइँदै आएको छ । विद्यार्थी र अभिभावकको आग्रहलाई ध्यानमा राख्दै देशभरका सबै हलका सबै शोमा आधा मूल्यमा टिकट उपलब्ध गराइएको निर्माता विनोद पौडेलले बताएका छन् ।
जोन योञ्जन निर्देशित ‘रोल नं १’ ले शिक्षा प्रणाली, विद्यार्थीमाथिको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ पक्षलाई कथावस्तु बनाएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका छ । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिएका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रमा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताका रूपमा रहेका छन्। महेश दवाडीको लेखन रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, प्रशान्त शिवाकोटीको संगीत तथा मदन घिमिरेको सम्पादन रहेको छ ।