प्रदर्शनअघि नै चर्चा कमाएको चलचित्र ‘गौँथली’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ। शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पहिलो दिनदेखि नै सकारात्मक ‘वर्ड अफ माउथ’ पाउँदै दोस्रो दिन शनिबार अधिकांश हलमा दर्शकको उल्लेखनीय उपस्थिति दर्ज गराएको हो ।
शुक्रबारको राम्रो प्रतिक्रियाको प्रभाव शनिबारको अकुपेन्सीमा स्पष्ट देखिएको छ। अग्रिम बुकिङ उत्साहजनक भएपछि धेरै हलले चलचित्रका अतिरिक्त शोसमेत थपेका छन् । त्यसअनुसार शुक्रबारको तुलनामा शनिबार ‘गौँथली’ले उल्लेख्य रूपमा बढी शो पाएको छ ।
हलमा दर्शकको चाप बढेसँगै कलाकार अरुण क्षेत्री, सिम्रन खड्कालगायत चलचित्र टोली दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न विभिन्न हलमा पुगेका थिए। दर्शकहरूले गाउँको परिवेश र जीवनशैलीलाई यथार्थ रूपमा प्रस्तुत गरिएको भन्दै चलचित्रको प्रशंसा गरेका छन् ।
निर्देशक कपिल रिजालले आफूहरूले भेटेका अधिकांश दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए। उनका अनुसार दर्शकले ‘गौँथली’लाई हेर्नैपर्ने मौलिक नेपाली चलचित्रका रूपमा मूल्यांकन गरेका छन्। यस्तो प्रतिक्रियाले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको उनको भनाइ छ ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा। कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरिरहेका छन् ।