नेपाली चलचित्र उद्योगमा अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै नयाँ महत्वाकांक्षी परियोजना सार्वजनिक गरिएको छ । स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले औपचारिक रूपमा चलचित्रको घोषणा गरेको हो ।
यो चलचित्रको निर्देशन बिक्की महर्जनले गर्नेछन् भने अमित अग्रहरि र निशा गुइदे निर्माता रहेका छन् । निर्देशक महर्जन स्वयंले कथा लेखेको चलचित्रले नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य लिएको निर्माण पक्षले जनाएको छ ।
सार्वजनिक गरिएको थिम पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय परिवेशलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । प्राचीन मन्दिरको शिखरबाट तलको चहलपहल नियालिरहेको दृश्य समेटिएको पोस्टरले कथाप्रति कौतूहल बढाउने प्रयास गरेको देखिन्छ । कथावस्तुबारे धेरै खुलासा नगरिए पनि नेपाली समाज, संस्कृति र मानवीय सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिने संकेत पोस्टरमार्फत दिइएको छ ।
‘बम्पर चिठ्ठा’ नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण गरिनेछ। निर्माण टिमका अनुसार चलचित्र अमेजन प्राइम भिडियोमार्फत विश्वव्यापी रूपमा प्रदर्शन हुनेछ, जसबाट २४० भन्दा बढी देशका दर्शकमाझ पुग्ने अपेक्षा गरिएको छ ।
निर्माण पक्षले यो परियोजनाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । कलाकार र अन्य प्राविधिक टोलीबारे भने आगामी दिनमा क्रमशः जानकारी सार्वजनिक गरिने बताइएको छ ।
यस्तै, यही निर्माण टिमको अर्को चलचित्र ‘आउट ल’ आगामी सेप्टेम्बरमा अमेजन प्राइम भिडियोमार्फत विश्वभर रिलिज हुने तयारीमा छ । उक्त चलचित्र प्रदर्शनमा आएलगत्तै ‘बम्पर चिठ्ठा’को निर्माण कार्यलाई तीव्रता दिइने निर्माण टिमले जनाएको छ ।
निर्माण पक्षका अनुसार ‘बम्पर चिठ्ठा’ केवल मनोरञ्जनमा सीमित रहने कमेडी चलचित्र नभई नेपाली चलचित्र उद्योगलाई विश्व बजारमा थप प्रभावशाली रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित अघि बढाइएको महत्वाकांक्षी परियोजना हो ।