नेपाली सांगीतिक बजारमा नयाँ तीज गीत ‘नौरती फुली’ सार्वजनिक भएको छ । साउने संक्रान्तिको अवसरमा सार्वजनिक गरिएको गीत ‘नौरती फुली’ ले छोटो समयमै दर्शक–श्रोतामाझ उल्लेखनीय लोकप्रियता हासिल गरेको छ । गायिका एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बुको स्वरमा सजिएको गीतले युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्दै मौलिक तीज गीतका रूपमा चर्चा कमाइरहेको छ।
एलिना चौहानको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले समाचार तयार पार्दासम्म चार लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । सार्वजनिक भएको छोटो अवधिमै लाखौं दर्शकमाझ पुग्न सफल भएको यो गीतले यस वर्षको तीज पर्वप्रतिको उत्साहलाई थप बढाएको देखिएको छ ।
गीतमा एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बुको स्वर संयोजनलाई पनि निकै रुचाइएको छ । चारै गायिकाको आवाजमा रहेको मिठास, ऊर्जा र तालमेलले गीतलाई थप प्रभावशाली बनाएको भन्दै श्रोताले प्रशंसा गरिरहेका छन् ।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोमा स्मारिका ढकाल, जुना सुन्दास, सञ्चिता बोल्खे र रीना थापाको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ । नेपाली मौलिक पहिरन र तीजको सांस्कृतिक परिवेशलाई जीवन्त ढंगले प्रस्तुत गरिएको भिडियोमा चारै गायिकाको समेत विशेष उपस्थितिले थप आकर्षण थपेको छ ।
गीतका शब्द तथा संगीत दीपक शर्माले तयार पारेका हुन् भने संगीत संयोजन उदय राज पौडेलले गरेका छन् । सार्वजनिक भएयता धेरै दर्शकले यो गीतलाई बारम्बार सुन्दा पनि धित नमर्ने तीज गीतको संज्ञा दिएका छन् । कतिपयले नेपाली मौलिक तीज गीतलाई प्रवर्द्धन गर्न आफ्ना साथीभाइ र आफन्तलाई समेत गीत हेर्न आग्रह गरिरहेका छन् ।
गीतले छोटो समयमै पाएको माया र सकारात्मक प्रतिक्रियाप्रति गायिका एलिना चौहानले दर्शक तथा श्रोताप्रति आभार व्यक्त गरेकी छन् । उनले आगामी दिनमा पनि नेपाली मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
मौलिकता, सांस्कृतिक प्रस्तुति र सशक्त गायनका कारण ‘नौरती फुली’ ले यस वर्षको तीज गीतको प्रतिस्पर्धामा बलियो उपस्थिति जनाएको छ । नेपाली तीजको वास्तविक भावना र सांस्कृतिक पहिचानलाई पुनः स्थापित गर्न यो गीत सफल भएको धेरैको विश्वास छ ।