रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को साउने संक्रान्तिको अवसर पारेर औपचारिक घोषणा गरिएको छ । काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष समारोहबीच चलचित्र सार्वजनिक गरिएको हो ।
घोषणा कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्र सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन् । कार्यक्रममा बोल्दै उनले रघुजी फिल्म्सबाट यसअघि घोषणा भएका अन्य परियोजनाहरू पनि यस चलचित्रपछि क्रमशः निर्माण प्रक्रियामा लैजाने तयारी रहेको जानकारी दिए ।
चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन् । कार्यकारी निर्माता निरज नेपाल रहेको चलचित्रमा निर्मल पौडेल मुख्य सहायक निर्देशक, उत्सव पौडेल सहायक निर्देशक, शमशेर लामा मेकअप कलाकार तथा जीवन पोखरेल भेषभूषा डिजाइनरका रूपमा आबद्ध छन् ।
‘तीन तीघ्रे क्या बिग्रे’मा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना र राजु तिमल्सिना लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
पूर्ण मनोरञ्जनात्मक कमेडी कथामा निर्माण हुन लागेको चलचित्रले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई नयाँ शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेको निर्देशक अमरदीप सापकोटाले बताए । चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।