मुख्य कलाकार विजय बरालको चोटका कारण केही समय रोकिएको नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ। विजयको हातको चोट निको भएपछि निर्माण टोलीले पर्वतबाट बाँकी दृश्यहरूको छायांकनलाई तीव्रता दिएको हो।
चलचित्रको छायांकन जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कमा सुरु भएको थियो । करिब १५ दिनको छायांकनपछि घोडाबाट लडेर विजय बराल घाइते बनेका थिए । दुर्घटनामा उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेपछि छायांकन स्थगित गरिएको थियो । अहिले भने दुई सातादेखि पुनः सोही स्थानबाट काम अघि बढिरहेको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन् ।
निर्देशक पौडेलका अनुसार छायांकन केही समय रोकिए पनि टोली नयाँ उत्साहका साथ पुनः काममा फर्किएको छ । उनले खाली समयलाई चलचित्रलाई अझ उत्कृष्ट बनाउने तयारीमा सदुपयोग गरिएको उल्लेख गर्दै अब बाँकी काम योजनाअनुसार अघि बढिरहेको बताए ।
‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल, अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली दोस्रो पटक एउटै परियोजनामा सहकार्य गरिरहेका छन् । यसअघि उनीहरूले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफलमध्ये एक मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा र पूर्व मिस नेपाल उषा खड्गीलगायत कलाकारहरूको अभिनय रहनेछ ।
निर्देशक पौडेलको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद सबिन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् । चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह(निर्माताका रूपमा रहेका छन् ।
पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते प्रदर्शनमा आउने तयारीमा छ ।