निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर रहेको छ ।
गीतका शब्द निर्देशक बोहराले लेखेका हुन् भने संगीत राजनराज शिवाकोटीले तयार गरेका छन् । गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् । भिडियोमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राईलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
लोक–आधुनिक शैलीमा तयार पारिएको गीतले दर्शक तथा श्रोताको मन जित्नेमा आफू विश्वस्त रहेको गायक तथा संगीतकार राजनराज शिवाकोटीले बताए । कार्यक्रममा गीत प्रस्तुत गर्दै उनले केही समय नयाँ संगीत सिर्जनाबाट विश्राम लिए पनि अहिले पुनः सक्रिय रूपमा संगीत क्षेत्रमा फर्किएको जानकारी दिए ।
अभिनेत्री सुरक्षा पन्तले ‘चमेलीको पोइ’ आफ्नो करिअरको निकै आशा गरिएको फिल्म रहेको बताइन् । यसअघि निर्देशक एभरेष्ट सूर्य बोहरासँग ‘भैरे’मा काम गरेको स्मरण गर्दै उनले यस किसिमको कमेडी तथा यथार्थपरक कथामा आधारित फिल्ममा अभिनय गर्ने अवसर कमै पाएको उल्लेख गरिन् । शीर्ष भूमिकामा रहेकाले आफू अझ उत्साहित भएको उनको भनाइ थियो ।
अभिनेता मुकुन भुसालले सुरक्षा पन्तसँग अभिनय गर्ने आफ्नो लामो समयदेखिको इच्छा यस फिल्ममार्फत पूरा भएको बताए । विभिन्न निर्देशकबाट प्रस्ताव आए पनि सहकार्य जुर्न नसकेको उल्लेख गर्दै उनले ‘चमेलीको पोइ’प्रति आफू निकै आशावादी रहेको प्रतिक्रिया दिए ।
निर्देशक एभरेष्ट सूर्य बोहराले यसअघि ‘ठूली’ फिल्मको चर्चित गीत ‘म त छु कि क्या हो ठूली’ जस्तै ‘ओइ ओइ चमेली’लाई पनि दर्शकले माया गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार गीतले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढाउनेछ ।
निर्माता रामनारायण उपाध्याय र निर्मात्री सुनीता सापकोटाले आफ्नो पहिलो निर्माण भएकाले ‘चमेलीको पोइ’प्रति विशेष अपेक्षा रहेको बताए । उनीहरूले फिल्मका सबै पक्ष उत्कृष्ट बनेको दाबी गर्दै भविष्यमा पनि निरन्तर फिल्म निर्माण गर्ने योजना रहेको जानकारी दिए । निर्माता उपाध्यायले अमेरिकामा भइरहेको विशेष प्रदर्शनमा फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै निर्माणमा कुनै सम्झौता नगरिएको बताए ।
फिल्मको पोस्टर सार्वजनिक भएयता चर्चामा रहेको ‘चमेलीको पोइ’बाट करिब डेढ दशकपछि चर्चित हास्य कलाकार नारायण त्रिपाठी (प्रेमचरो) नेपाली रजतपटमा पुनरागमन गर्दैछन् ।
फिल्ममा नारायण त्रिपाठी, मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायत कलाकारको अभिनय रहेको छ ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा शेरबहादुर तामाङको छायांकन रहेको छ । फिल्मका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन् भने कार्यकारी निर्मातामा उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य रहेका छन् । सह–निर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदीपकुमार सापकोटा छन् ।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन रहेको छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।