नेपाली चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक गरिएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित चलचित्रको प्रदर्शनअघि निर्माण टिमले दर्शकमाझ यो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ। रुबाई र सरोदी कुमारको स्वर रहेको गीतको मिक्सिङ तथा मास्टरिङ रूप महन्तले गरेका छन् भने मुम्बईस्थित प्लेहेड स्टुडियोमा यसको रेकर्डिङ गरिएको हो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
चलचित्रमा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् । पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन् ।
चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा लेखेका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पार्श्व संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ, रेनिश फागोको रङ संयोजन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
‘कमला मिस’लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन् । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।