चलचित्र ‘गौँथली’ले प्रदर्शनको पहिलो सातामै बक्स अफिसमा सकारात्मक लय समात्दै आफ्नो व्यापारिक उपस्थिति बलियो बनाएको छ । प्रदर्शनको पहिलो दिन (शुक्रबार) औसत व्यापार गरेको चलचित्रले शनिबार र आइतबार भने अपेक्षाभन्दा राम्रो व्यवसाय गर्दै दर्शकको उल्लेखनीय साथ पाएको निर्माण पक्षले जनाएको छ ।
विश्वकप फुटबलको माहोल र लगातारको वर्षाका कारण सुरुवाती दिनमा दर्शक हलसम्म कम पुग्ने अनुमान गरिए पनि ‘गौँथली’ प्रति दर्शकको आकर्षण बढ्दै गएको देखिएको छ । बढ्दो मागसँगै देशभरका विभिन्न सिनेमाघरले चलचित्रका शो पनि थप्दै गएका छन् ।
निर्देशक डा. कपिल रिजालका अनुसार चलचित्र हेरेपछि दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले नयाँ दर्शकलाई हलसम्म ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । उनका अनुसार विशेषगरी अपराह्न र साँझका शोहरूमा दर्शकको चाप उल्लेखनीय रूपमा बढेको छ, जसले ‘वर्ड अफ माउथ’ प्रचार प्रभावकारी बनेको संकेत गरेको छ ।
यसैबीच निर्देशक रिजालले चलचित्रका महत्त्वपूर्ण दृश्य खिचेर फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट नगर्न दर्शकसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत जारी अपिलमा उनले चलचित्रप्रति दर्शकले देखाएको माया र विश्वासप्रति आभार व्यक्त गर्दै यस्ता गतिविधिले अन्य दर्शकको उत्सुकता घटाउनुका साथै चलचित्रको व्यावसायिक, सृजनात्मक र कलात्मक पक्षमा नकारात्मक असर पर्ने बताएका छन् ।
उनले चलचित्रका दृश्य अनधिकृत रूपमा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यविरुद्ध कानुनी प्रक्रिया समेत अघि बढाइएको जानकारी दिँदै सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
‘गौँथली’ले दाम्पत्य सम्बन्धमा पारस्परिक साथ, अन्यायविरुद्ध आवाज उठाउने साहस, धैर्यता, संघर्ष र सत्यको पक्षमा उभिनुपर्ने सन्देश दिएको भन्दै दर्शकबाट प्रशंसा पाइरहेको छ । विशेषगरी समाजमा पीडित महिलाको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरिएको विषयले महिला दर्शकमाझ चलचित्रलाई थप रुचाइएको निर्देशक रिजालको भनाइ छ ।
निर्माता सुमन गिरीका अनुसार मंगलबार पनि देशभरका अधिकांश हलमा चलचित्रको अकुपेन्सी उत्साहजनक रह्यो । बिहानका शोमा ७० देखि ८० प्रतिशतसम्म दर्शक उपस्थिति रहेको र दिउँसो तथा साँझका अधिकांश शो शतप्रतिशत अकुपेन्सीसम्म पुगेको उनले बताए ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा। कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरिरहेका छन् ।