नेपाल र भारतका नेपाली भाषी समुदायबीच भाषा, साहित्य, कला, संगीत र संस्कृतिको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ को छैटौं संस्करण भारतको सिक्किमस्थित रमणीय पर्यटकीय नगर राभाङ्लामा सम्पन्न भएको छ ।
‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजित समारोहमा नेपाल, सिक्किम तथा भारतका विभिन्न क्षेत्रका साहित्यकार, कलाकार, संगीतकर्मी, सञ्चारकर्मी, समाजसेवी र सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सिक्किम वेभ्स मिडिया र सिक्किम अनलाइन न्यूज मिडियाको सहकार्यमा सम्पन्न कार्यक्रममा सिक्किमका विधायक रिक्साल दोर्जे भुटिया प्रमुख संरक्षकका रूपमा सहभागी भएका थिए । अवार्ड समारोहसँगै आयोजित लाइभ सांगीतिक कार्यक्रममा नेपाली संगीतका विभिन्न विधाका कलाकारले प्रस्तुति दिएका थिए ।
यस वर्षको समारोहमा नेपालका वरिष्ठ साहित्यकार अमर वान्तु र सिक्किमका साहित्यकार हरि ढुंगेल लाई नेपाली भाषा, साहित्य, संगीत तथा समाजसेवामा दशकौँदेखि पुर्याएको योगदानको कदर गर्दै ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०२६’ अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो। यसअघि यो सम्मान संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, वरिष्ठ गायिका चन्द्रकला शाह, ज्ञानु राणा तथा गायक खड्ग गर्बुजाले प्राप्त गरिसकेका छन्।
समारोहमा विभिन्न विधामा योगदान पुर्याएका दर्जनौँ स्रष्टा तथा कलाकार सम्मानित भएका छन्। नवगीततर्फ बाबुराम श्रेष्ठ ‘निरुपम’, हास्य अभिनयतर्फ रश्मी पाण्डे, लोकप्रिय गीतकारतर्फ बिमल काफ्ले, युगल गायनतर्फ तारावीर पाण्डे र मिलन नेवार तथा भाषाभाषी गायनतर्फ अनिल योञ्जन सम्मानित भए। आधुनिक गीत विधामा नारायण नेपाल, सुमन बी।टी। र पवित्रा गुरुङले अवार्ड प्राप्त गरे।
त्यसैगरी, बालकलाकार कायरा गुरुङ लाई ‘राइजिङ स्टार अवार्ड’ प्रदान गरियो। जुरी अवार्डअन्तर्गत योगेश काजी, मेरो करिमा, प्रकाश सुवेदी, विनोद श्रेष्ठ, बिनोद तानेर, मुकेश गुरुङ, शंकर थापा ‘स्माइल’, नीता आचार्य, डा. विलोल पोखरेल, दीपक शर्मा र प्रकाशजंग कार्की सम्मानित भए।
अन्य अवार्ड विजेतामा षड्ज सम्बाहाम्फे र रचना रिमाल (युगल गायन), छपिन गुरुङ (लोकप्रिय आधुनिक गायक), कृष्णदेव रूपाखेती (निर्देशन), पासाङ शेर्पा (लोकप्रिय गीत), सारिका घिमिरे (आधुनिक गायिका), रोशन टमट्टा (उत्कृष्ट गायक), अमृत मारहट्ठा (शृंगार), सेरु बराली (पूर्वेली रचना), पवित्रा आचार्य (भाषाभाषी गीतको कोरियोग्राफी), कल्पिस विश्वकर्मा (सम्पादन), मञ्जु लावती (लोक–पप गायिका) तथा कुन्दन गुप्ता (नव मोडल) रहेका छन् ।
अवार्ड समारोहसँगै आयोजित सांगीतिक कार्यक्रममा तारावीर पाण्डे, अशोक दर्जी, शंकर थापा ‘स्माइल’, सारिका घिमिरे, षड्ज सम्बाहाम्फे, सुमन बी।टी।, प्रकाशजंग कार्की, सुन्दर राई, विनोद दनुवार, रमेश पाठक, पवित्रा गुरुङ र अनिश योञ्जनले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए । पवित्रा आचार्य, शिला गजुरेललगायतका कलाकारले सांस्कृतिक नृत्य प्रस्तुत गरेर समारोहलाई थप आकर्षक बनाएका थिए ।
साहित्यिक सत्रमा वरिष्ठ साहित्यकार अमर वान्तु र डा। विलोल पोखरेलले कविता वाचन गर्दै समकालीन नेपाली साहित्य र सिर्जनात्मक यात्रामाथि आफ्ना रचना प्रस्तुत गरेका थिए । सहभागीहरूले साहित्यिक प्रस्तुतिले समारोहको गरिमा अझ बढाएको प्रतिक्रिया दिएका थिए ।
यस अवसरमा साहित्यकार अमर बानियाँ ‘लोहोरो’, अभिनेत्री सृजना कार्की, चित्रकार टिकामाया गुरुङ, व्यवसायी तथा मोडल भक्तराज जोशी, गायक अशोक दर्जी, बालगायक रिहान सुब्बा, सञ्चारकर्मी अक्कल कुँवर, स्वस्तिका पन्थी, पेम नर्वु शेर्पा, फूर्वा रवाण्ड, निर्माता डेनिभ पुन, सौन्दर्यकर्मी गीता सिंह, चलचित्र निर्माता केवल तामाङ, मोडल शिला गजुरेल, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल, गायक सुन्दर राई, गीतकार तथा समाजसेवी तीर्थकुमारी राई, सुष्मा गुरुङ र रिकी ल्हामु लेप्चालगायतलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।
अवार्डको मुख्य निर्णायक वरिष्ठ संगीतकार राजु सिंह रहेका थिए भने निर्णायक सदस्यमा सुनिल गिरी, सन्दीप पौड्याल, रमेश पाठक र वीरेन्द्र भाट ‘विपिन’ थिए । उनीहरूको योगदानको कदर गर्दै प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै आयोजक संस्था अध्यक्ष गणेश सुवेदी ले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले हिमालयन इन्टरनेशनल अवार्डलाई निरन्तरता दिइएको बताए। विश्वभर रहेका नेपाली भाषी स्रष्टालाई एउटै मञ्चमा जोड्ने अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने उनको भनाइ थियो ।
कार्यक्रम संयोजक गीता अधिकारी का अनुसार विभिन्न कारणले सिक्किम पुग्न नसकेका सम्मानित स्रष्टा तथा कलाकारलाई निकट भविष्यमै काठमाडौंमा विशेष समारोह आयोजना गरी अवार्ड र सम्मान प्रदान गरिनेछ । उनले नेपाल र भारतका नेपाली भाषी कलाकार तथा स्रष्टाबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले यसपटकको संस्करण सिक्किममा आयोजना गरिएको जानकारी दिइन्। यसअघि हिमालयन इन्टरनेशनल अवार्डको पाँचौं संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो ।
आयोजकका अनुसार हिमालयन इन्टरनेशनल अवार्डले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउँदै आएको छ । सहभागीहरूले पनि सिक्किममा सम्पन्न छैटौं संस्करणले नेपाली भाषाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै स्रष्टा र कलाकारहरूको योगदानलाई सम्मानित गर्ने महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।