चलचित्र विकास बोर्डका सदस्य, प्रवक्ता तथा निर्देशक सन्तोष बाबु लोहनीले चलचित्र जाँचपासबाट प्राप्त हुने आफ्नो भत्तालाई समस्यामा परेका चलचित्रकर्मीको सहयोगमा खर्च गर्ने अभियान सुरु गरेका छन् । अभियानअन्तर्गत उनले पहिलोपटक नौवटा नेपाली चलचित्रको जाँचपास गरेबापत प्राप्त सम्पूर्ण भत्ता उपचाररत कलाकार कोपिला थापालाई हस्तान्तरण गरेका छन् ।
चलचित्र जाँचपास समितिका सदस्यसमेत रहेका लोहनीले गत असार महिनामा नौवटा चलचित्रको जाँचपासबाट प्राप्त भत्ता चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको उपस्थितिमा थापालाई प्रदान गरेका हुन् ।
कलाकार कोपिला थापा करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि लामो समयदेखि उपचार गराइरहेकी थापाले आर्थिक अभावसमेत झेल्दै आएकी छन् ।
यसै अवस्थालाई मध्यनजर गर्दै लोहनीले आफूले काम गर्ने क्षेत्रका व्यक्तिहरू समस्यामा पर्दा सहयोग गर्नु आफ्नो दायित्व भएको बताउँदै जाँचपासबाट प्राप्त हुने भत्ता नियमित रूपमा आर्थिक, स्वास्थ्य वा अन्य समस्यामा परेका चलचित्रकर्मीलाई उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
‘जुन क्षेत्रमा काम गरिरहेका छौं, त्यही क्षेत्रका व्यक्ति अप्ठ्यारोमा पर्दा सक्दो सहयोग गर्नु हाम्रो दायित्व हो,’ लोहनीले भने, ‘त्यसैले चलचित्र जाँचपासबाट प्राप्त हुने भत्ता समस्यामा परेका चलचित्रकर्मीको सहयोगमा खर्च गर्ने निर्णय गरेको हुँ ।’
उनले आगामी महिनाहरूमा पनि जाँचपासबाट प्राप्त हुने भत्ता आवश्यकताका आधारमा समस्यामा रहेका चलचित्रकर्मीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाल कलाकार कोपिला थापा काठमाडौंको हात्तीगौंडास्थित एन्जल हेल्थ केयर सेन्टरमा उपचाररत छिन् ।