नेपाली सांगीतिक बजारमा उदीयमान गायक आदित्य श्रेष्ठले आफ्नो पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक गरेका छन् । प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथामा आधारित यस गीतले अध्ययनका लागि विदेश जान बाध्य भएकी युवती र नेपालमै बसेर उनको सफलताको प्रतीक्षामा रहने प्रेमीबीचको सम्बन्धलाई संवेदनशील ढंगले चित्रण गरेको छ ।
गीतले भौगोलिक दूरीभन्दा विश्वास अझ शक्तिशाली हुने र साँचो प्रेमलाई विश्वासकै आधारले जीवनभर जोगाइराख्न सकिने सन्देश दिन्छ । यही भावलाई गीत र म्युजिक भिडियोमार्फत मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
‘बाचा’मा शब्द, संगीत तथा निर्देशन निर्मल श्रेष्ठको रहेको छ । भिडियोको छायांकन र सम्पादन निरज भुसालले गरेका हुन् भने म्युजिक भिडियोमा एन्जल राईसँगै गायक आदित्य श्रेष्ठ स्वयंले अभिनय गरेका छन् । भिडियोको सृजनात्मक निर्देशन (क्रियटिभ डाइरेक्टर) सुब्रत आचार्यले सम्हालेका छन् ।
बाल्यकालदेखि नै संगीतप्रति रुचि राख्दै आएका आदित्यले हालै जेभियर एकेडेमी, लाजिम्पाटद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ प्रतियोगितामा आफ्नो समूहसहित उपाधि जितेका थिए । यसअघि सन् २०१७ मा सम्पन्न ‘मिस्टर एन्ड मिस लिटल लुम्बिनी’ प्रतियोगितामा पनि उनी पुरुषतर्फ विजेता बनेका थिए ।
‘बाचा’ आदित्यको सांगीतिक करियरको पहिलो आधिकारिक प्रस्तुति हो । युवा पुस्ताको प्रेम, सपना, अध्ययनका लागि विदेशिने बाध्यता र सम्बन्धमा विश्वासको महत्वलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले श्रोता तथा दर्शकमाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको छ ।