विवाहित नेपाली महिलाको व्यक्तित्व, प्रतिभा र नेतृत्व क्षमता उजागर गर्ने उद्देश्यसहित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । रिवन इन्टरटेनमेन्ट प्रालिले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गर्दै आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो ।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी २३ साउन काठमाडौंमा आयोजना हुनेछ भने ग्रान्ड फिनाले १४ कात्तिकमा सम्पन्न गरिनेछ । प्रतियोगिताले विवाहित तथा एकल महिलालाई आफ्नो व्यक्तित्व, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक योगदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।
अडिसनबाट छनोट भएका प्रतियोगीलाई करिब ४५ दिन विशेष प्रशिक्षण प्रदान गरिनेछ । प्रशिक्षण अवधिमा व्यक्तित्व विकास, सञ्चारकला, नेतृत्व, सार्वजनिक प्रस्तुति, फिटनेस, र्याम्प वाक तथा सामाजिक उत्तरदायित्वलगायत विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा न्यूनतम एसईई वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले सहभागिता जनाउन सक्नेछन्। इच्छुकले रिवन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइट वा आवेदन फाराममार्फत आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् ।
यस संस्करणमा मिसेस नेपाल वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस नेपाल कस्मो उपाधिका विजेता चयन गरिनेछ। मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् भने मिसेस नेपाल कस्मो विजेताले म्यानमारमा आयोजना हुने मिसेस कस्मो प्रतियोगितामा सहभागिता जनाउनेछिन् ।
पत्रकार सम्मेलनमा आयोजक संस्था रिवन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निशुकान्त झाले विगतका संस्करणमा नेपाली प्रतियोगीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै यस वर्ष पनि उत्कृष्ट प्रतिनिधित्व हुने विश्वास व्यक्त गरे ।