नेपाली सांगीतिक बजारमा लिम्बू भाषाको नयाँ गीत ‘युप्पारुङ्’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्ट्मेन्टको युट्युब च्यानलमार्फत वर्ल्ड प्रिमियरसहित सार्वजनिक गरिएको छ । अमेरिकामा बसोबास गर्दै आएका निर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण तथा निर्देशनमा तयार भएको भिडियो न्युयोर्क आसपासका विभिन्न आकर्षक स्थानमा छायांकन गरिएको हो ।
निर्माण टिमका अनुसार भिडियोको छायांकन सम्पन्न गर्न करिब सात महिना लागेको थियो । निर्देशक सुब्बाले हिउँद, वर्षा र गर्मी गरी तीनै मौसमको प्राकृतिक सौन्दर्य, गाउँ र सहरको परिवेश तथा विभिन्न सांस्कृतिक चाडपर्वलाई एउटै भिडियोमा समेट्ने उद्देश्यले लामो समय लगाएर छायांकन गरिएको जानकारी दिएका छन् ।
करिब १० लाख रुपैयाँको लागतमा निर्माण भएको ‘युप्पारुङ्’ निर्देशक किशोर सुब्बाले अमेरिकामा निर्देशन गरेको सातौं म्युजिक भिडियो पनि हो ।
गीतमा बिवस वेनामको शब्द रहेको छ भने संगीत, एरेन्ज, रेकर्डिङ, मिक्सिङ र मास्टरिङ मनि ताम्लिङले गरेका छन्। गीतमा सुनिता थेगिम र मनि ताम्लिङको स्वर सुन्न सकिन्छ ।
भिडियोको कोरियोग्राफी चर्चित नृत्य निर्देशक गोबिन्द राईले गरेका हुन् । सम्राट कार्की र सुनिल मगरले छायांकन गरेको भिडियोको सम्पादन मन्दिल श्रेष्ठले गरेका छन् भने रंग संयोजन ९कलर ग्रेडिङ० राजेन्द्र मोक्तानको रहेको छ ।
भिडियोमा चर्चित मोडल तथा अभिनेत्री रन्जिता गुरुङ र सुमन लिम्बूको अभिनय देख्न सकिन्छ । निर्माणमा किरात याक्थुङ चुम्लुङ अमेरिका, किरात माङ्हिम न्युयोर्क, परण लिम्बू (न्युयोर्क) र धनुका लिम्बू (न्युयोर्क) लगायतको विशेष सहयोग रहेको निर्माण पक्षले जनाएको छ ।
निर्देशक किशोर सुब्बाले ‘युप्पारुङ्’ ले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गर्दै भिडियो हेरेर आफ्ना प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन् ।