‘पञ्चेबाजा’ फेम्ड निर्देशक घनश्याम लामिछानेले ५ वर्षपछि निर्देशनमा कमब्याक गरेको चलचित्र ‘लण्डन टू पेरिस’को छायांकन सुरु भएको छ । शुक्रवार लण्डनमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । चलचित्रका प्रमुख कलाकारहरु साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमाको यो डेब्यू चलचित्र हो ।
चलचित्रको छायांकनका लागि चार जना कलाकारको टोली यसै साता लण्डन प्रस्थान गरेको थियो । निर्देशक लामिछानेसहितको टोली भने केही हप्ता अगाडि नै छायांकनको चाँजोपाँचो मिलाउन लण्डन पुगिसकेको थियो । ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको चलचित्रको सम्पूर्ण छायांकन बेलायत र फ्रान्समा हुनेछ । चलचित्रमा साम्राज्ञीले नव-नायक निश्चलसँग रोमान्स गर्नेछिन् ।
छायांकनअघि कलाकारलाई एक महिना रंगकर्मी सरिता गिरीले वर्कसप गराएकी थिइन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यसअघि प्रदीपले लेखेको कथामा घनश्यामले चलचित्र ‘पञ्चेबाजा’ बनाएका थिए । निर्देशक लामिछानेले सामाजिक विषयवस्तुमा ‘अग्नीदहन’ र ‘धौली’ चलचित्रको पनि निर्देशन गरेका छन् ।
चलचित्रको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल छन् भने सह-निर्मातामा अजित सिंह छन् । ‘पासवर्ड’बाट चलचित्र निर्माणमा होमिएको एबी इन्टरनेशनलले त्यसपछि ‘सम्हालिन्छ कहिले मन’ निर्माण गर्यो, जुन आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउँदैछ । त्यस्तै, यसै महिना यो कम्पनीले चलचित्र ‘हनी बनी’को पनि निर्माण सकाएको छ ।