निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाले फिल्म ‘नाङ्गो गाउँ’को सिक्वेल बनाउने भएका छन् । दुई जनाबीच आइतबार ‘नाङ्गो गाउँ २’ निर्माणका लागि सहमति भएको हो । ‘अ पोलिटिकल कमब्याक’ अर्थात् ‘एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित बन्ने सिक्वेलमा दयाहाङ राईले निर्वाह गरेको पात्र पासाङ केही समयपछि गाउँ फर्किने कथा रहनेछ ।
निर्देशक लामाले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनी भन्छन्, ‘अहिले चलचित्रको कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो हुनपुग्यो र हामीले दुई भागमै बनाउने सोच्यौं ।’
‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गरेको पायौं, उहाँहरुले दोस्रो भाग चाहियो पनि भन्नुभएको छ,’ निर्माता कडरियाले भने, ‘हामीले पहिलो भागको छायांकनको दौरानमै दोस्रो भागको परिकल्पना गरेका थियौं । अहिले सबैतिरबाट दोस्रो भागको माग आएकाले हामी दोस्रो भागको योजनालाई अगाडि बढाउने निर्णयमा पुगेका हौं ।’
दोस्रो भागको कथामा के हुन्छ त रु भन्ने प्रश्नमा निर्देशक लामाले भने, ‘गाउँमा जरीको आतंकबाट गाउँलेहरु वाक्क हुन्छन् । र, जरीबाट पीडित गाउँलेहरु काठमाडौं गएर पासाङलाई गाउँ फर्काउँछन् । पासाङ गाउँ फर्केर जरीका खराब गतिविधिलाई रोक्ने संघर्षमा होमिन्छ ।’
निर्माता कडरियाका अनुसार ‘नाङ्गो गाउँ २’को छायांकन तत्काल होइन एक वर्षपछि मात्र हुनेछ । त्यसअघि उनले निर्देशक लामालाई नै लिएर अर्को कमेडी चलचित्र निर्माण गर्ने भएका छन् । ‘चलचित्र ‘नाङ्गो गाउँ’बाट म सन्तुष्ट छु, त्यहीभएर मैले दीपेन्द्रजीसँगको सहकार्यलाई निरन्तरता दिन लागेको हुँ,’ कडरियाले भने ।
तिहारपछि छायांकनमा जाने नाम जुराउन बाँकी उक्त कमेडी फिल्ममा लामाकै लेखन रहनेछ । यसमा ‘नाङ्गो गाउँ’कै टिम दोहोरिने सम्भावना छ । कलाकार र प्राविधिक टिमको बारेमा केही दिनपछि जानकारी दिने निर्माण टोलीको तयारी छ । निर्देशक लामाले भने, ‘यो मेरो पहिलो फुल कमेडी चलचित्र हुनेछ । यसपालि दर्शकलाई दुई घन्टा लगातार हँसाउनु मेरो लक्ष्य रहनेछ ।’