आज बडादसैँ घटस्थापनाको अवसर पारी नेपालको पहिलो ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा सुपरहिट चलचित्र ‘जारी’ रिलिज भएको छ । यस वर्षको सर्वाधिक हिट चलचित्र ‘जारी’ले हलमा १७ करोडमाथिको कलेक्सन गरेको थियो ।
उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र जारीको सिनेमा घर एपमा सर्वाधिक माग आएको थियो । सोही मागलाई मध्यनजर गर्दै यो चलचित्र रिलिज गरिएको सिनेमाघरका सिईओ सागर खरेलले बताए ।
यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ लगायतको अभिनय छ ।
यसअघि यो सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन् । गत भदौमा रिलिज भएको ‘महापुरुष’ले सिनेमाघरमा सफल व्यापार गरिरहेको छ ।
‘जारी’ हेर्न रु. २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ ।