सन्तोष सेनको चलचित्र ‘बलिदान’मा गायक सुजन चापागाईँ जोडिएका छन् । सुजनसँगै उनको साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरू गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि बलिदानमा आबद्ध भएका छन् ।
चलचित्रका गीत तथा ब्याकराउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा सङ्गीत तथा स्वर र ब्याकराउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन् ।
दर्शक तथा श्रोताका लोकप्रिय गायक तथा सङ्गीतकारलाई चलचित्रमा आबद्ध गराउन निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समयदेखि छलफल गरिरहेका थिए । टिमको आबद्धतासँगै हाल गीत सङ्गीतको विषयमा कार्यशाला भइरहेको छ । निर्देशक सेनले चलचित्रको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने जानकारी दिए ।
आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस चलचित्रमा कलाकारहरूको विषयमा भने केही खुलासा गरिएको छैन ।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन् । यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।
आसुसेन प्रा।ली। तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।