चीनको बेइजिङ फिल्म फेस्टिभलमा नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ छनोट भएको छ । बेइजिङ पानोरमा विधामा फिल्म छनोट भएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिलोपटक कुनै नेपाली फिल्म बेइजिङमा छनोट भएको हो ।
बेइजिङमा छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको निर्माताले जनाएका छन् । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा दृश्यता बढाउन र अन्तर्राष्ट्रियकरणमा टेवा पुर्याउनेछ भन्ने आशा लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’ले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।
अमेरिकी छायाकार जोस हेरमले खिचेको यो फिल्मलाई भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ ।
फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको संगीत र किशोर आचार्यको ध्वनि छ । मिन्सो लिम्बू लाइन प्रोड्युसर रहेको फिल्ममा सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई कार्यकारी निर्माता छन् । फिल्मका निर्माता नवीन सुब्बा हुन् ।
‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्मको निर्माता कम्पनी बाँसुरी फिल्म्सले नेपाल प्रदर्शनका लागि मेन्छयम पिक्चर्ससँग सहकार्य गरेको छ । नेपालमा जेठ १८ गते प्रदर्शन तय छ । यस वर्षको बेइजिङ फिल्म फेस्टिभल अप्रिल १८ देखि २६ सम्म आयोजना हुँदैछ ।