अनिल बुढा मगर निर्देशित फिल्म घरज्वाइँले दुईवटा पोस्टर सार्वजनिक गर्दै आफ्ना दुई मूल पात्रको लुक्स सार्वजनिक गरेको छ ।
सार्वजनिक भएका दुई पोस्टरमध्ये एकमा अभिनेता राईलाई बन्दुक बोकेको रवाफिलो अन्दाजमा प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा भनेर उनै दयालाई डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरलाई पछ्याइरहेको देख्न सकिन्छ । सो पोस्टरमा मिरुनाले उनको कपडा बुनिरहेको देख्न सकिन्छ ।
मगर संस्कृतिमा आधारित रहेको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन, राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगर आदिको अभिनय रहेको छ ।
पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको घरज्वाइँको कथा तथा पटकथा स्वयम् निर्देशक बुढाले लेखेका हुन् भने संवादमा भने उनले विनोद खतिवडा तथा सुभास कोइरालासँग सहकार्य गरेका छन् ।
सुसन प्रजापतिले खिचेको फिल्ममा हर्क साउद शब्द तथा मनोज थापाको संगीत छ भने रामजी लामिछाने कोरियोग्राफर हुन् । फिल्म असार २८ गते रिलिज हुनेछ ।