नेपालीहरुको महान चाड, वडा दशैंलाई लक्षित गर्दै फिल्म क्षेत्रमा पनि एक किसिमको रौनक छाएको छ । गत शुक्रबार मात्रै ४ वटा चलचित्रले आफ्नो प्रदर्शन मिति तय गर्दै फस्र्टलुक पोस्टर सार्वजनिक गरेका छन् । जसमा जारी २, बलिदान, माइती घर र हरिबहादुरको जुत्ता दशैलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेका छन् । चलचित्र प्रदर्शन गर्न दशैलाई नै किन रोज्छन् निर्माताहरु ? यसरी एक अर्कामा प्रतिस्पर्धा गर्दा नेपाली सिने बजारलाई धान्न सक्लान् त ! महान चाड दशैं भएकै कारण र क्यालेण्डरमा रातो रंग देख्ने बित्तिकै चलचित्रलाई एक आपसमा प्रतिस्पर्धा गर्न तयार हुन्छन् निर्माताहरु । यो समयमा चलचित्र प्रदर्शनमा ल्यायो भने चल्छ भन्ने ट्रेण्ड नै चलिसकेको छ । सबै नेपालीहरु प्राय आफ्नो घर परिवारसंग रमाईलो गर्न छुट्टी लिएर आएका हुन्छन् र प्राय जसो नेपालीहरु फिल्म हेर्न जान्छन् भन्ने मान्यता छ । त्यसैले यो समयमा फिल्म चलाउनको लागि निर्माताहरुको होड बाजी नै चल्छ । यसरी एकै समयमा चलचित्र प्रदर्शन गर्नमा एक अर्कामा प्रतिस्पर्धा गर्न किन तयार हुन्छन् निर्माताहरु, के यो शैलिमा गएर फाइदा जनक हुन्छ र ? मिलेर साझेदारीमा अगाडि बढ्न सकिन्न र ?
बाँसुरी फिल्मस् र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘जारी‘को सिक्वेल ‘जारी २‘ असोज ३ गते प्रदर्शनमा आउने भएको छ । लिम्बु समुदाय र उनीहरुको संस्कृति झल्काउने ‘जारी २‘लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् भने रामबाबु गुरुङ निर्माता रहेका छन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । दयाहाङ र मिरुनाको जोडीलाई रुचाउने गर्छन् र यसमा विजय र बुद्धि पनि रहेकाले यो चलचित्र चल्छ भन्ने अनुमान गर्न सकिन्छ । दयाहाङ, विजय र बुद्धि यी ३ को केमेस्ट्रीलाई कबड्डी देखि नै दर्शकले रुचाउदै आएका छन् । यी ३ लाई प्राय कमेडी शैलिमा प्रस्तुत गरीएकै कारण दर्शकले रुचाएको हो । यस हिसाबले पनि यो चलचित्र चल्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।
आसुसेन फिल्मस् प्रा. लि. को प्रस्तुति रहेको चलचित्र ‘बलिदान‘ असोज १३ गते देशभर प्रर्दशनमा आउने भएको छ । सन्तोष सेन निर्देशक रहेका छन् भने पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन् । चलचित्रमा समीर भट्ट, सौगात मल्ल, कविता राय, अर्पण थापा, ऋचा शर्मा लगायत कलाकारहरुको अभिनय रहेको छ । गत वर्ष प्रदर्शन भएको चलचित्र १२ गाउँबाट एक्सन हिरोको रुपमा चर्चा बटुल्न सफल नायक समीर र अभिनेता सौगात मल्लको मिश्रण रहेको चलचत्रिले पनि दर्शकको मन जित्न सफल हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ । ‘बलिदान‘लाई पनि एक्सन चलचित्रको रुपमा लिन सकिन्छ । जहाँ समीर भट्ट र सौगात मल्लको एक्सन देख्न सकिन्छ । चलचित्र घोषणा देखि नै समीरको घाइते र क्रुद्धमुद्रामा देखिएको लुक्सले चर्चा पाईरहेका छन् ।
त्यसैगरी असोज १३ गते नै प्रर्दशनमा आउन लागेको अर्को चलचित्र रोहित अधिकारी फिल्मस् प्रा. लि.को ब्यानरमा निर्माण भएको ‘माइतीघर‘ हो । मिलन तामाङको निर्देशन, रविन शेरचन र धिरज तामाङ निर्माता हुन् । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन् । फिल्ममा धिरज मगर, प्रकाश सपुत, केदार घिमिरे, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म माइतीघरले तामाङ संस्कृतिको कथालाई उठान गरेको छ । ठुलो पर्दामा अहिले सम्म तामाङ संस्कृतलाई समेटेर चलचित्र निर्माण भएको छैन । त्यसै पनि यो चलचित्र फरक धारमा प्रस्तुत गरेकोले चल्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ । माइतीघर भन्ने शब्द नै प्यारो र राम्रो शब्द हो । पोस्टरमा उज्यालो बलिरहेको घर समेत प्रस्तुत छ । यसले, माइतीघरलाई चित्रण गर्न खोजिएको बुझ्न सकिन्छ ।
त्यसैगरी असोज १३ मै अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता‘ पनि प्रर्दशनमा आउन लागेको चलचित्र हो । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको ‘हरिबहादुरको जुत्ता‘लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका छन् । त्यसैगरी सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण के.सी, राजाराम पौडेल, दिव्य देव, कमलमणि नेपाल लगायत कलाकारहरुको अभिनय रहेको छ । हरिवंश आचार्यलाई हरिबहादुर नामले लोकप्रियता दिएको छ । पुरानो कलाकार र हाँस्य क्षेत्रमा छुट्टै छवि बनाउन सफल भैसकेको हरिबहादुरको चलचित्र हरिबहादुरकै नामबाट चल्छ भन्ने अनुमान गर्न सकिन्छ । हरि बहादुर पात्र नेपाली टेलिभिजनबाट दर्शकमाझ लोकप्रिय रहेको छ । त्यसैले पनि यो चलचित्र चल्छ भन्ने अुनमान गर्न सकिन्छ ।
पहिले –पहिले वडा दशैंलाई लक्षित गरी दुई वटा चलचित्र प्रर्दशनमा आउने गथ्र्यो । तर गत वर्ष भने ३ चलचित्र प्रर्दशनमा आएका थिए । १२ गाउँ, छक्का पञ्जा ५ र ज्वाइँ साब प्रर्दशनमा आएका थिए । यो ३ फिल्मबाट ‘१२ गाउँ‘ ले सर्वाधिक ब्यापार गर्न सफल भयो भने ‘छक्का पञ्जा ५‘ले पनि राम्रो व्यापार गर्यो । ‘ज्वाइँ साब‘ले पनि लगानी सुरक्षित गरेको थियो ।