तीज हिन्दू नारीहरुको महान चाड हो । यो चाड भाद्र द्धितीयादेखि पञ्चमीसम्म ४ दिन मनाईन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गरिन्छ । पहिले–पहिले पार्वतीले मन पराएको शिव पाउन भनि तपस्या गरेर शिव भगवानलाई प्राप्त गरेको भन्ने मान्यता रहेको छ । सोही दिन देखि यस दिनलाई उत्सवको रुपमा मनाउन थालियो र तीजको रुपमा मनाउदै आएको मानिन्छ । यहि मान्यतालाई सिको गर्दै हिन्दू नारीहरुले पनि यो पर्व मनाउदै आईरहेका छन् ।
पौराणिक काल देखि चलिआएको तीज पर्वमा महिलाहरु आफ्नो वेदना, दुख, पिडा बिसाउनका लागि माइत जाने गर्छन् । सुख–दुख साटासाट गरी एकै ठाउँमा बसेर रमाईलो गर्ने चलन चलिआएको छ । यस दिन विशेष गरी दर खाने गरिन्छ । यही दर खाने दिन बाट नै तीजको सुरु भएको मानिन्छ । यहि दिन गीत गाउँने, नाच्ने, गीत मार्फत आफ्ना बेदना सुनाउने गरिन्छ । गीत पनि मौलिकता आफ्नो परम्परागत अनुसारको हुन्थ्यो । दुख, पिडा भएको आफ्नो माइती जानको लागि तीज जस्ता पर्वहरु कुर्ने गरिन्थ्यो ।
आधुनिकता संगसंगै सबै चिजमा परिवर्तन आईरहेको समयमा तीज मनाउने शैलीमा त आकाश जमिनको फरक भने झै भैसकेको छ । पहिले–पहिले नारीहरु आफ्नो घर परिवारबाट हेपाई खादै, दुख भोग्दै तीज पर्वलाई कुर्दै बस्ने चलन थियो । तर अहिले तीज मनाउने भन्ने नाममा एक– दुई महिना देखि नै चहल–पहल सुरु भैसकेको हुन्छ । खासमा तीज ४ दिन सम्म मनाइन्छ । तर पछिल्लो समय यो एउटा फेसनको रुपमा चलिरहेको छ । एक–दुई महिना अगाडि देखि नै पार्टी राखेर मनाउने चलन चलि आएको छ । नयाँ ढंगले अप्नाउनु राम्रो हो तर नयाँ तरिकाबाट अप्नायो भन्दैमा पूर्खौदेखि चलि आएको परम्परा र मान्यतालाई बिर्सिदै जानु राम्रो त पक्कै पनि होइन । तीजको नाममा कत्ति महिलाहरुले आफ्नो घर परिवारसंग झगडा गरी नयाँ फेसन अनुसारको गर गहना लत्ता कपडाहरुमा खर्च गरिरहेका हुन्छन् । सोही अनुसारको पार्टी गरेर देखाउँदै तीज मनाउँदै आईरहेका छन् । यो एउटा देखावटीपन हुदै आईरहेको छ । तीजमा शुद्धभई ब्रत बस्ने चलनमा जाड, रक्सी जस्ता पिय पदार्थहरु सेवन गर्ने चलन चलिरहेको छ । यस्तो चलनले गर्दा कतिपयको घरबार बिग्रीएको अबस्था पनि छ । पहिले – पहिले महिलाहरु पीडामा, शोषणमा परेर दुख बिसाउनका लागि तीज विशेष हुन्थ्यो भने पछिल्लो समय फेसनको रुपमा नानाथरी पार्टी गर्नै पर्छ भन्ने शैलीमा पुगी सकेको अबस्था रहेको छ । अझ घरमा भन्दा पनि पार्टी प्यालेसमा गएर मनाउन तम्सिन्छन् आजकलका महिलाहरु ।
तीज पर्वमा खासगरी व्रत बस्ने चलन रहि आएको छ । खासमा विवाहित महिलाहरुले आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दैे घर परिवारमा राम्रो होस् भनि व्रत बस्ने चलन चलिआएको छ । अविवाहित महिलाहरुले सुयोग्य वरको आशा राख्दै व्रत बस्ने गर्छन् । व्रतको समयमा महिलाहरुले तीजको व्रतकथा सुन्ने र पुजा लगाई दान दक्षिणा गर्ने चलन रहेको छ । तर आज – भोली यो चलन बिस्तारै हट्दै गईरहेको देख्न सकिन्छ । आधुनिकतासंगै यो व्रत बस्ने चलन पनि बिस्तारै लोपोन्मुख हुदै गईरहेको छ ।
यसरी सबै चिजमा परिवर्तन हुदै गईरहेको समयमा तीज पर्व संगै तीजमा नाचगान गर्ने गीतहरुमा समेत परिवर्तन भैसकेको छ । पहिलेको समयमा विरह र वेदनाले भरिएको मौलिक गीत नै गुञ्जने गरेको पाईन्थ्यो । तर आजभोली त्यस्तो खालको गीत भन्दा पनि पश्चिमेली गीतलाई प्राथमिकता दिईरहेको देख्न सकिन्छ । तीज पर्व भन्ने बित्तिकै सबैको मुखैमा आउँने ‘तीजको रहर आयो बरीलै‘ भन्ने तीज गीत सदाबहार गीतका रुपमा रहेको देखिन्छ । यस्तो मौलिकता बोकेके तीज गीतहरु हिजो–आज हराउन थालिसकेका छन् । आधुनिकताको नाममा सबै मौलिकता र परम्परालाई भुल्दै गईरहेको देख्न सकिन्छ । पछिल्ला समय तीजका गीतहरुमा मौलिकता हराउन थालेको छ । घरपरिवार संग बसेर सुन्न र हेर्न नसकिने खालका तीज गीतले प्राथमिकता पाईरहेका छन् । समाजले पचाउन नसक्ने छाडा खालका गीतहरु एकपछि अर्को सार्वजनिक भइरहेका छन् । दर्शक, श्रोताले पनि यस्तै खाले गीतहरु मनपराईदिने र हेर्ने गर्छन् । त्यसलै पनि भिउजको नाममा गीत चल्छ भन्ने मान्यतामा अझ बढि भिडियो हिट गराउने नाममा गीतका बिचमा छाडा र दोहोरो अर्थ लागे्र शब्दको प्रयोग गरिरहेका हुन्छन् । यस्तो खालको शब्द, शैलिले गर्दा तीज गीतको मौलिकपन हराउँदै गएको छ । मौलिक तथा शालिन किसिमका गीतहरु नचल्ने र अहिले जसरी भएपनि कमाउने नाममा तीज गीतमा यस्तो विकृति भित्रिएको हो । अस्ति भर्खरै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले समाजिक सद्भाव भड्काउने खालका गीतहरुलाई उजु्री समेत दिएको थियो । लोक गायन क्षेत्रमा निकै चर्चामा रहेकी गायिका शान्तिश्री परियार समेत यसमा मुछिन पुगिन् । यो एउटा निराशाजनक विषय हो । पैसाकै नाममा आफ्नो मौलिकता र पहिचान सकाउनु कत्तिको उचित हो त्यसको मुल्याङ्कन भने अरुले भन्दा पनि आफैंले गर्नुपर्ने हुन्छ ।
तीज पर्व विशेषगरी महिलाहरुको पर्व हो । तर आजभोली पुरुषले पनि गीत गाएर नाचगान गर्ने चलन चल्दै आएको छ । पहिले पुरुषले गीत गाउने प्रचलन नै थिएन । महिलाका दुख, वेदनालाई समेटेर गीत गाउने चलन थियो । पुरुषले गीत गाएता पनि दाजुभाई माइती बनेर गाउँने गरिन्थ्यो । पुरुषले तीज गीत गाउने परम्परा होइन । तर पछिल्लो समय पुरुषकै गीत बजारमा बढि सुनिन्छ । समय, परिवेश फेरिएको कारण तीज गीतको पनि स्वरुप फेरिएको भन्न सकिन्छ । त्यसैले नारीको मौलिकता बोकेको तीज पर्वमा पुरुषहरु पनि होमिन पुगेका होलान् । पुरुषले तीज गीत गाएता पनि मौलिकता र महिलाको दुख, वेदना, पीरलाई समेटिदिए पनि अझ राम्रो हुन्थ्यो । तर अहिलेका गीतमा त्यस्तो मौलिकता भन्ने शब्द नै छैन । अहिलेका गीत उच्छृङखल र भिडियो हिट हुने खालका मात्र बनिरहेका छन् । यस्ता गीतहरुले समाजमा कस्तो प्रभाव पार्छ भन्ने सोच गीत बनाउने पुरुषहरुमा हेक्का हुन जरुरी छ । आफ्नो चेलिबेटीसंग रमाइलो गर्दै नाचगान गर्न त पाइन्छ नै, तर आफ्नो मौलिक, संस्कार संस्कृतिलाई भुलेर परम्परा काल देखि चल्दै आएको पर्वलाई आधुनिकताको नाममा विकृति फैलाउँदै जानु पक्कै पनि उचित होइन ।
तीज पर्व मौलिक संगै सांस्कृतिक पर्व पनि हो । यो पर्व महिलाहरुको आस्था मात्र होइन, उनिहरुको खुशी, मिलन र संस्कृतिको प्रतिक पनि हो । तीजले पारिवारिक सम्बन्ध मजबुत बनाउने र सांस्कृतिक मूल्यलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले मौलिकता झल्काउने पर्वलाई कुन रुपमा अगाडि बढाउदै लाने भन्ने विषयमा आफैबाट सुरुवात गर्न आवश्यक छ । आफ्नो परम्परा, संस्कृतिमा आँच आउने कार्यहरु बन्द गर्दै, नेपालीको मौलिक तथा सांस्कृतिक पहिचानलाई जोगाई राख्न जरुरी छ ।