साहित्यकार लेखनाथ पोखरेलको नियात्रा संग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’को अंग्रेजी संस्करण पाठकमाझ आएको हो ।
यात्रा वृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाईस गुच्छाहरूको संगालोको रूपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसंगको संग्रह गरेका छन् । कृतिमा लेखकले उनको जीवनका बाल्यकालदेखि यौवनसम्मका स्मृतिहरू, विद्यार्थीकालका अनुभव र अनुभूति, जागिरे जीवनका भोगाइ र अवकाश प्राप्त जीवनका अनुभवहरू जस्ता चार कालखण्डलाई बढो रोचक, सन्देश मूलक, तथ्यपरक र ज्ञानबर्द्धक रूपमा पस्किएको महाकाव्यकार खेमनाथ दाहाल बताउँछन् ।
‘लेखक लेखनाथ पोखरेलले अत्यन्तै सरल भाषा र पठनीय शैलीमा ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, राजनीतिक र राष्ट्रियचेतले ओतप्रोतयुक्त यात्रा विवरणका रूपमा प्रस्तुत गर्नुभएको छ कृतिमा’, स्रष्टा दाहालले भन्नुभयो, ‘नेपाली संस्करण जस्तै अंग्रेजीलाई पनि पाठकले मन पराउनेछन् ।’
आफूले देखेका भोगेका अनुभूति र यात्रा विवरणलाई यस कृतिमा उतार्ने कोसिस गरेको भन्दै लेखक पोखरेलले ‘आफ्नो अतीतलाई उधार्ने र आफ्नो स्मृतिलाई तिखार्ने प्रयासपछि बितेका क्षणका अनगिन्ती कुराको स्मणको ठूलै संगालो आफूभित्र जम्मा हुन पुग्यो, ती सबै संस्मरणलाई लिपिबद्ध गर्ने जमर्कोले यो कृति तयार भएको हो’, भन्नुभयो । उहाँले अंग्रेजी संस्करणको पनि माग भएको हुँदा यसै रूपमा पाठकमाझ आएको बताए ।
नेपाली संस्रकणको पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गर्नुभएको थियो भने महाकाव्यकार खेमनाथ दाहालको भूमिका छ । आशिष पोखरेल प्रकाशक रहनु भएको २२४ पृष्ठको यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ ।