कलाकारलाई देशको गहनाको रुपमा चिनिन्छ । नेपालमा महिला कलाकारलाई गहनाकै रुपमा प्रयोग भइरहेको देख्न सकिन्छ । जसरी कुनै कार्यक्रममा सजिएर चिटिक्क परेर गहना, राम्रो कपडा लगाएर सजिएर जान्छ, त्यसरी नै महिला कलाकारलाई कला क्षेत्रमा सजाइएर राखेको मात्र पनि भन्न सकिन्छ । जसरी गहनालाई काम पर्ने बेलामा सजिनको लागि अगाडि लेराईन्छ र पछि फेरी थन्काउने कार्य गरिन्छ । त्यसरी नै महिला कलाकारलाई कुनै चलचित्रको प्रोमोशनको बेलामा मात्र अगाडि लेराउने र प्रचार–प्रसारमा सरिक गराउने तर कथा बस्तुमा भूमिका भने छोटो अथवा दोश्रो दर्जामा राखेको हुन्छ । पुरुष कलाकारको भूमिका मुख्य र लामो कथा बस्तुमा राखिएको हुन्छ भने महिला कलाकारको भूमिकालाई छोटो कथा, बस्तुमा अझ भनौ पूरुष कलाकारको अगाडि–पछाडि घुम्ने खालको भूमिकामा प्रस्तुत गरेको हुन्छ । काम एउटै, स्थल एउटै, समय एउटै तर दोश्रो दर्जामा अझै महिला कलाकार किन ? अझै पनि नेपाली कला क्षेत्रमा लैंगिक असमानता बढ्दो रुपमा रहेको छ । महिला कलाकारलाई कथा, बस्तुमा मुख्य भूमिका दिन जटिल चाँहि किन ? उनिहरुलाई मुख्य पात्रको रुपमा लिन सकिन्न र ? कि मुख्य भूमिका निभाउनै सक्दैनन् हो ?
२१ औं शताब्दीमा समयले निकै फड्को मारीसकेको बेला अझै पनि पुरुष र महिलाबिच विभेद किन ? पारिश्रमिकको आधारमा पनि महिला कलाकारलाई विभेद भएको पाईन्छ । एउटै चलचित्रमा काम संगै गरेको हुन्छ तर पुरुष कलाकारलाई बढि पारिश्रमिक र महिला कलाकारलाई कम पारिश्रमिकमा आजसम्म पनि काम गर्नु पर्ने किन ? पूरुष कलाकारको चलचित्रको संख्याको मात्रा हेर्ने हो भने धेरै भेटिन्छन् तर महिला कलाकारको चलचित्रको संख्या न्यून रुपमै रहेको छ । यो के दोश्रो दर्जामा राखेकै कारण हो त, महिला कलाकारको चलचित्रको संख्या घट्दो रुपमा रहेको ? चलचित्रमा दोहोरिने पनि बढि जस्तो पूरुष कलाकार नै हुन् । महिला कालकारलाई दोहोराएर लियो भने विभिन्न प्रश्नको सिकार बन्न पुग्छ । महिला कलाकारको हकमा नेपाली चलचित्र उद्योगले विविधता दिन सकेको छैन । अखिरमा मेहनत त दुबैले गरेको हुन्छ । आफ्नो कलालाई न्याय दिन भरपुर लागिरहेको हुन्छ र पनि महिला कलाकार नै ओझेलमा सधैभरि परिरहेको छ । डमीको रुपमा र एउटा मनोरञ्जनको रुपमा मात्र महिला कलाकारलाई प्रस्तुत गरिरहेको देख्न सकिन्छ । अझ भनौ प्राय महिला कलाकारलाई अंग प्रदर्शनको भूमिकामा प्रस्तुत गरेको हुन्छ । लगाउने कपडा देखि लिएर अभिनय सम्म सबै कुरामा विभेद भईरहेको हुन्छ । महिला कलाकारमा राम्रो प्रतिभा हुँदा–हुँदै पनि किन विभेदमा परिन्छ? कतिपय महिला कलाकारले त लैंगिक हिंसा खेपिरहनु परेको हुन्छ । उस्को प्रतिभाको कदर र मुल्याङ्कन गर्दैै काम दिन सकिदैन र ? कि महिला भएकै कारण यस्तो विभेद र हिंसा भोग्नु पर्छ हो ? नत्र प्रतिभाको मूल्याङ्कन गर्दै महिला कलाकारलाई पनि अगाडि सरिक गराउनु पर्ने हो । दोश्रो दर्जामा नराख्नु पर्ने हो । उनिहरुले सरल तरिकामा एउटा खुल्ला वातावरणमा काम गर्न पाउनु पर्ने हो । होलान् एक दुई जना महिला कलाकारले मुख्य पात्रमा भूमिका निभाएको तर त्यो औलामा गन्दा पनि नभेटिने खालको छ । पूरुष कलाकारले झै महिला कलाकारले पनि सहज वातावरणमा राम्रो र लामो कथा, वस्तुमा मुख्य पात्र भएर भूमिका निभाउन पाउनु पर्नेै हो । राम्रो र लामो कथा, वस्तु, मुख्य भूमिका दिएर महिला कलाकारलाई काम गर्न दिन के पाप लाग्छ हो ? महिला कलाकारलाई खालि सौन्दर्य प्रर्दशनको निमित्त मात्र भूमिका दिने हो , एउटा आकर्षणको केन्द्र बनाएर मात्र अगाडि लेराउने गरिन्छ । भएको प्रतिभालाई उजागर गर्ने एउटा ठाउँ दिन सकिन्न र ? भलय होला महिला कलाकार सौन्दर्यको खानी, यो प्रकृतिले दिएको देन हो । प्रकृतिले दिएको सौन्दर्यको खानी भन्दैमा यसैमा सिमित राखेर दोश्रो दर्जामै राखिरहने हो ? कलाकारकै माध्यमबाट कतिपय सन्देशहरु मानिसले प्राप्त गरिरहेको हुन्छ । सन्देश प्रदान गर्ने क्षेत्रमै यस्तो विभेद भएपछि आम मानिसले भोलिको दिनमा कसरी राम्रो सन्देश प्राप्त गर्न सकिन्छ ? कतिपय मानिसले कलाकारले प्रस्तुत गरेको कला बाट नै प्रेरित भएर उनिहरुले आफ्नो जीवनमा समेत लागु पनि गरेको हुन्छ । यस्तो राम्रो सन्देश प्रदान गर्ने क्षेत्रमै विभेद किन ? यो विभेदलाई हटाएर समान व्यवहार गर्न सकिन्न र ?
नेपाली कला क्षेत्रमा यस्तो विभेद भए पनि महिला कलाकारको संख्या बढ्दै आईरहेको छ । अझ सक्रिय रुपमा अगाडि बढ्दो छ । तर महिला केन्द्रित चलचित्रको संख्या सोही हिसाबमा भने बढेको पाईदैन । नयाँ अनुहार, नयाँ प्रतिभा संग–संगै अभिनयमा पनि अव्वल महिला कलाकारहरुको उदयमान भैसकेको छ । यस्तो अवस्थामा राम्रो अवसर दिएर अगाडि बढाउने हो वा अझै विभेद गर्दै ओझेलमा पार्ने हो ? पुरानालाई आदर सम्मान गर्दै नयाँ अनुहारहरुलाई हौसला दिन जरुरी छ । पूरुष कलाकारले जसरी नै मूख्य भूमिकामा काम गर्न सक्ने क्षमता भएको एक सय एक महिला कलाकारहरुको संख्या बढ्दो रुपमा छ । उनिहरुलाई लैंगिक हिंसामा नपारौ । एउटा कठपुतलिको रुपमा प्रयोग नगरौ । प्रतिभाको मूल्याङ्कन गर्दै अगाडि बढ्न दिन जरुरी छ । महिला कलाकारलाई पनि थाहा हुन जरुरी छ कि आफू कुन रुपमा प्रस्तुत हुन लागिरहेको छ, कसैले ललाईफकाई गरेकै आधारमा जुन पायो त्यहि पात्रमा प्रस्तुत हुन इन्कार गर्न सक्ने हुनु पर्छ । महिला कलाकारले बलियो कथा, वस्तुमा मात्र कार्य गर्ने भन्न सक्ने पनि हुनु पर्छ । नत्र सधै भरि पछाडि र पूरुषको अगाडि–पछाडि घुम्ने खालको पात्र मै सिमित भैरहने छ । त्यसैले कुन रुपमा प्रस्तुत हुने भन्ने निर्णय महिला कलाकारले सहि ढंगले लिन जरुरी देख्छ । हरेक चिजको सामना गर्दै आइरहेको महिला कलाकार लैंगिक विभेद, सामाजिक रीतिरिवाज, जस्ता चुनौतीहरुलाई पार गर्दै आफ्नो कार्यमा अढिक रहदै आईरहेको छ । जस्तो सुकै भूमिकामा पनि अभिनय गर्न सक्ने क्षमता भएको महिला कलाकारलाई दोश्रो दर्जामा नराखौ । पहिलो – दाश्रो भन्दा पनि बराबरी भूमिकामा प्रस्तुत गर्न जरुरी छ ।
लेखकहरुले कि महिला कलाकारको बारेमा बलियो कथा, वस्तु , मुख्य पात्रको रुपमा राखेर कथा लेख्नै नसकेको हुनुपर्छ । नत्र बलियो कथा वस्तु त हुनुपर्ने, लेख्नु पर्ने हो ! मुख्य भूमिकामा कन्जुसाई नदेखाई कथा, वस्तुु लेखेर दिने हो भने अवस्य महिला कलाकारले पनि पूरुष कलाकारले झै राम्रो र बलियो अभिनय गरेर देखाउने छन् । जुनसुकै विधामा पनि कार्य गर्न सक्ने खालका शिक्षित महिला कलाकारहरुको आगमन भैसकेको छ । यो एउटा राम्रो पक्ष हुन जान्छ । एक्सन विधामा होस् वा अन्य कुनै विधामा भए पनि काम गर्नसक्ने क्षमतावान महिला कलाकारहरु नेपाली कला क्षेत्रमा भित्रीसकेका छन् । राम्रो प्रतिभालाई चिनौ र विभेद नगरौ ।
(चलचित्र मञ्च २०८२ बाट साभार)