नेपाललाई भौगोलिक हिसावमा ३ भागमा विभाजन गरिएको छ । हिमाल, पहाड र तराई । यहाँ विभिन्न थरीका जातजाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरुको बसोबास रहेको छ । फरक धर्म, फरक भाषा, फरक संस्कृति, फरक जातजातिका मानिसहरु भएता पनि एकआपसमा मिलेर बसेका छन् । यहाँ एकले अर्काको सम्मान र सत्कार गर्ने गर्दछन् । यसर्थ नेपाललाई अन्य मुलुकको तुलनामा भाषा, धर्म, सँस्कृति लगायत अन्य विषयमा विश्वमा नै धनी मानिन्छ । वास्तवमा नेपाल विविधताले भरिपूर्ण राष्ट्र हो ।
यहाँका मानिसहरुले विभिन्न धर्म मान्छन् र सोहि धर्म अनुसारकै आ–आफ्नै चाडपर्वहरु पनि मनाउँछन् । ती चाडपर्वहरु मध्यको एक हो ‘ल्होसार‘ पर्व । ल्होसार पर्व ३ सम्प्रदायका मानिसहरुले ३ थरीका ल्होसार मनाँउदै आईरहेका छन् । सोनाम ल्होसार – तामाङ, तमु ल्होसार – गुरुङ र ग्याल्पो ल्होसार – शेर्पा/भोटे । यी मध्ये तामाङ समुदायले विशेष रुपमा मनाउने चाड ‘सोनाम ल्होसार‘ हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होछार मनाइन्छ । ल्होछार महत्वपूर्ण साँस्कृतिक पर्व मात्रै नभई उमेर गणनाको आधार पनि हो । नयाँ वर्षको आगमनसँगै उमेर गणना गर्न यसको प्रयोग हुन्छ । यसका लागि विभिन्न १२ वटा जनावरलाई प्रतिक मानिन्छ । ल्होछारमा हरेक एक जनावरको पालो १२ वर्षपछि मात्र आउँने गर्दछ । यसलाई ल्हो – खोर ल्हो (वर्ष चक्र) भन्ने बुझिन्छ । तामाङ स्रोतका अनुसार तामाङ भन्नाले युद्धमा घोडा चढि आउने साहसी लडाकुलाई जनाउछ । यसले ‘ता‘ भनेको ‘घोडा‘ र ‘माङ‘ भनेको ‘लँडाकु‘ भन्ने अर्थ बुझिन्छ ।
‘ल्होछार‘ भन्नाले नयाँ वर्ष भन्ने बुझिन्छ । ‘ल्हो‘ भन्नाले वर्ष अर्थात साल र ‘छार‘ भन्नाले नयाँ भन्ने जनाउदछ । त्यसैले, ल्होछारको शाब्दिक अर्थ नयाँ हो । बोलीचालीको भाषामा ‘ल्होछार‘ र ‘ल्होसार‘ दुवै प्रयोग भइरहेको पाईन्छ । यसलाई कतिपयले फरक हुन् कि भन्ने बुझाई पनि राखेका हुन्छन् तर वास्तवमा यी दुवै एउटै हुन् । ‘ल्होसार‘ सांस्कृतिक शब्द हो भने ‘ल्होछार‘ बोलिचालिको शब्द हो ।
तामाङ जातिको आफ्नै मात्रीभाषा तामाङ भाषा हो । अनि तामाङ समुदायको आफ्नै चाडपर्वको रुपमा सोनाम ल्होछारलाई अंगिकार गरेको पाईन्छ । यस पर्वमा तामाङ समुदायले विभिन्न साँस्कृतिक कार्यक्रम गरी, एक आपसमा शुभकामना आदानप्रदान गरी वर्षौदेखि मनाउँदै आइरहेका छन् । मानिसहरु परम्परागत मौलिक तामाङ पोसाक र गरगहनामा सजिएर सांस्कृतिक कार्यक्रम गर्छन् । काठमाण्डौंको टुँडिखेलमा आफ्ना मौलिक पहिचान झल्कने पहिरन तथा झाँक्री सहित तामाङ समुदायका बालबालिका, युवायुवती तथा वृद्धवृद्धा सम्मले सोनाम ल्होछार मनाउँदै आईरहेका छन् । पछिल्लो समय यता तामाङ समुदायका मानिस मात्र नभई अन्य समुदायका मानिसहरु पनि सामेल भएर सोनाम ल्होछारमा तामाङ पोसाक लगाएर नाचगान गर्दै एक अर्कामा शुभकामना आदानप्रदान गर्दै आइ रहेको देख्न सकिन्छ ।
उक्त दिन सामुहिक रुपमा भेला हुन नसक्ने समुदालयले आ–आफ्नो घर टोलछिमेक र पाएक पर्ने स्थानमा भेलाभई विभिन्न परिकारका खानाहरु खाई एकआपसमा रमाइलो गर्दै शुभकामना आदानप्रदान गरी ल्होछार मनाउँने परम्परा रहेको छ ।
यस पर्वमा तामाङ समुदायका मानिसहरुले विशेष गरी गुम्बा र चैत्यहरुमा गएर पूजा आजा गरी, तामाङ सेलो गीत र डम्फुको धुनमा नाचगान गरी मनोरञ्जन लिनुको साथै घर – परिसर सरसफाइ गरी देवी – देवतालाई स्वागत गरिन्छ । नयाँ वर्षमा सुख–शान्ति र समृद्धिको कामना गर्न विशेष पूजा गरिन्छ । अनि परिवार तथा समुदायमा भेला भई शुभकामना आदानप्रदान गर्ने र विशेष परिकारहरु (रोटी, सेलरोटी, खाप्से, आलुम, मासुका परिकार) बनाएर खाने चलन छ । पछिल्लो समय भने ल्होछारको अवसरमा तामाङ समुदायले विभिन्न सामाजिक कामहरु पनि गर्न थालेका छन् । तामाङविदहरुका भनाई अनुसार ः नयाँ वर्षमा खुशी साटासाट, गर्नुपर्छ भन्ने उद्देश्यले सामाजिक कामहरु पनि गर्न थालिएको हो भन्ने बुझिन्छ ।
सोनाम ल्होछार केवल नयाँ वर्षको सुरुवात मात्र होइन । यो तामाङहरुको पहिचान, परम्परा र साँस्कृतिक गौरवलाई जोगाउने माध्यम पनि हो । यस पर्वको अर्को महत्वपूर्ण पक्ष सामूहिकता हो । यस पर्वको मुख्य र महत्वपूर्ण आकर्षण भनेको डम्फु हो । डम्फु तामाङहरुको मौलिक बाजा हो । यसलाई बजाएर सामूहिक गीत – नृत्य गर्ने परम्परा ल्होसारको विशेष आकर्षण हो । २१ औं शताब्दीमा आईपुग्दा आफ्नो परम्परा संस्कृति लोपोन्मुख भएको अवस्थामा तामाङ गीत– संगीतबाट पनि आफ्नो परम्परा, धर्म, संस्कृतिलाई जगेर्ना गर्ने खालका कार्यहरु चलि आएको छ ।
जस्तै ः प्रकाश तामाङको गीतः सोनाम ल्होछार चु ह्याङला छार्नालाई नाना आङा नोब नोब घाङरङ रेन्ना लाई... आँखे म्हेमेसे तेन्बाला चु ल्होछार...
स्व. इन्दिरा गोलेको आवाज रहेको गीत ः नाँचौन हो नाँचौ नाँचौन हो नाँचौ ल्होछार मेलामा भेट भाको बेलामा कम्मर मर्काई नाँचौ...
यस्तै अन्य थुप्रै गीत संगीत मार्फत आफ्नो पर्व संस्कृतिको बारेमा उजागर गरेका छन् । तामाङ सेलो मन नपराउने व्यक्तिहरु बिरलै रुपमा पाईन्छ । नेपाली संगीत बजारमा तामाङ सेलोको छुट्टै किसिमको भाव पाईन्छ । सबै जसो नेपाली सेलोमा रमेको पाईन्छ । डम्फुको धुनमा, टुङ्नाको धुनमा प्रायः जसो नेपाली झुमेको देख्न सकिन्छ ।
यस पर्वले परम्परा, संस्कार, भाषा र संस्कृति जोगाउने मात्र होइन, नयाँ पुस्तामा पहिचान र गर्वको भावना जगाउने काम गर्छ । नयाँ वर्षसंगै आएको उमंग, आशा र एकताको सन्देशले व्यक्तिलाई मात्र होइन कि सम्पूर्ण समाजलाई अगाडि बढ्ने प्रेरणा दिनुको साथै सोनाम ल्होछारले सामाजिक एकता, प्रेम, सद्धभावलाई बढावा दिन्छ । यो पर्वले परिवार समुदायलाई नजिक ल्याउने मात्र होइन, नयाँ पुस्तामा परम्परागत मूल्यहरु हस्तान्तरण गर्ने अवसर प्रदान गर्दछ । त्यसैले आफ्नो पर्व, धर्म र संस्कृतिलाई जोगाउने कर्तव्य तपाई हाम्रै हो ।