सौरभ विश्वकर्मा र चाँदनी रापालले 'मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल २०२५' को उपाधि जितेका छन् । काठमाडौंमा सम्पन्न फिनालेमा उनीहरुले उपाधि चुमेका हुन् । सो अवसरमा विश्वकर्मा समुदायको सांस्कृतिक पोशाक औपचारिक रुपमा सार्वजनिक गरियो । कार्यक्रममा पुरूषले लगाउने सेतो रङकोको फेटा, कानमा मुन्द्रा, सेतो रङको भोटो, कम्मर मुनि मुजैमुजा परेको हल्का सेतो रङको जामा, कम्मरमा सेतै पटुका, कम्मरमा भिर्ने ढाल, तरवारजस्ता पोशाक प्रदर्शन गरिएको थियो ।
महिलाले लगाउने शिरबन्दी, रातो गम्छा, फूली तथा झम्के मुन्द्री, मालवाडी, चाँदीको हँसुली, पहेँलो, रातो र हरियो पोतेमा जन्तर, पैसाको माला, रातो फुलबुटट्टे मखमलको लगायत पोशाक प्रदर्शन गरिएको थियो । अध्येता तथा लेखक डीबी नेपाली दमुले पोशाक तयार पारेका हुन् । कार्यक्रममा पूर्वमन्त्री मीन विश्वकर्मा, पूर्वसांसद आशा विश्वकर्मा, दलित अभियान्ता खगेन्द्र सुनारलगायत दलित समुदायका कलाकार, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्र प्रतिष्ठित व्यक्तित्व उपस्थित थिए ।
महिलातर्फ रविना बराईली फस्ट-रनरअप, सन्ध्या घतानी सेकेन्ड रनरअप बने भने सारु सुना तेस्रो उपविजेता र सविना विक चौंथो उपविजेता घोषित भए । पुरुषतर्फ विमोचन विक फस्ट-रनरअप, ग्रिस विश्वकर्मा सेकेन्ड रनरअप र प्रज्वल खाती थर्ड रनरअप बनेका छन् । मोडल अलिशा गहजराजको नृत्य निर्देशनमा सम्पन्न प्रतियोगिताको लागि ड्रेस डिजाइन ज्वालाराज पोखरेलले गरेका थिए ।
आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष सञ्जय विश्वकर्माले ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाका लागि प्लाटफर्म निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको बताए । प्रतियोगितामा काठमाडौंसँगै इटहरी, बर्दिया, नवलपरासी, पोखरा, वुटवल, भोजपुर, नेपालगन्ज लगायत विभिन्न जिल्लाका २० जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा विजेतालाई ‘५० हजार नगदसहित गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो ।