सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा साउन २४ देखि ३१ सम्म ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । विज्ञप्ति जारी गर्दै संस्थानले लगातार दोस्रो वर्ष पनि गाईजात्रा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवमा १४ जना कमेडियनले प्रस्तति दिने तय भएको छ । पत्रकार सम्मेलन गर्दै संस्थानले यसबारे जानकारी समेत दिएको छ । प्रस्तुति दिने कमेडियनको लाइनअपमा पुराना हास्यकलाकारदेखि अहिले चर्चित टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’देखि ‘कमेडी दरबार’का कलाकारसम्म छन् ।
सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, राजा राजेन्द्र पोखरेलले प्रस्तुति दिनेछन् । ‘कमेडी दरबार’बाट हिमेश पन्त, विकास अर्याल, सरोज भण्डारी र सुजिता श्रेष्ठले प्रस्तुति दिनेछन् । ‘कमेडी नाइट विथ च्याम्पियन्स’बाट भरतमणी पौड्याल, सन्तोष थापा, सुमन कोइराला र कैलाश कार्कीले प्रस्तुति दिने जनाइएको छ ।
दिनेश काफ्ले, खडगबहादुर पुन र सुयशा खनालले पनि प्रस्तुति दिनेछन् । कार्यालय र संस्थानको वेबसाइटमार्फत दर्शकले टिकट लिन सक्नेछन् । सांस्कृतिक पर्व गाईजात्रा (सापारु)को अवसरमा गाईजात्रा महोत्सव गर्न लागिएको जनाइएको छ । यो पर्वको मौलिक संस्कृति लोक हुने खतरा बढेकाले यसको संरक्षणको लागि गतवर्षदेखि गाईजात्रा महोत्सव आयोजना थालिएको जनाइएको छ ।
परम्परागत र लोकतान्त्रिक पद्धतिअनुसार ब्यंग्य गर्ने छुट रहेको तर, छुटको नाममा अतिरञ्जित किसिमले प्रहसन गरि सांस्कृतिक पर्व गाईजात्रा भन्नु नयाँ पुस्तामाझ गलत भाष्य सम्प्रेषण भैरहेको प्रति संस्थानले ध्यानाकर्षण पनि भएको जनाएको छ । संस्थानका महाप्रबन्धक किरणबाबु पुनले महोत्सवलाई भव्य बनाइने बताए ।