नेपाली समुदायको सांस्कृतिक पहिचान र एकतालाई प्रदर्शित गर्ने उद्देश्यस्वरूप हिमालयन मेला यस वर्ष आफ्नो १७ औं संस्करणसँगै नेप्लीज कम्युनिटी सर्भिसेजको रजत जयन्तीमा मनाउने भएको छ ।
टोरोन्टोको नेथन फिलिप स्क्वायरमा आगामी अगस्ट ९ मा मेलाको तय भएको छ । एनसीसीएसका महासचिव सुदर्शन सापकोटाले विगत भन्दा यस वर्ष मेला विशेष र फरक हुने बताउनुभयो । १० देखि १२ हजार दर्शकको जमघट हुने अनुमान आयोजकको छ ।
मेलामा मुख्य आकर्षणका रूपमा कलाकार खेम सेन्चुरीलाई निम्त्याइएको छ । साथै, विभिन्न जातजातिको परम्परागत बाजागाजा, सांस्कृतिक प्रस्तुति पनि हुनेछ ।
विभिन्न समुदायका खाना र व्यवसायिक स्टल पनि मेलाका आकर्षण हुने छन् । करिब २० वटा फुड स्टलहरू जहाँ मःमः सेलरोटी, आलुको आचारलगायत नेपाली परिकार राखिनेछ । यसबाहेक कन्सल्टिङ सेवा, इमिग्रेशन, रियल स्टेट, इन्स्योरेन्स, गहना व्यवसाय, हस्तकला र कपडा लगायतका १० भन्दा बढी व्यवसायिक स्टलहरू रहनेछन् ।
क्यनाडाका प्रधानमन्त्री, संघीय र प्रान्तीय सांसदहरू, टोरन्टो मेयर र नगरस्तरीय अधिकारीलाई पनि निम्तो गरिएको सापकोटाले बताउनुभयो ।