कवि, गीतकार तथा सङ्गीतकार प्रेम विनोद नन्दनको निधन भएको छ । नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सीएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उहाँ लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।
२०११ सालमा ‘झटारो’ गिती सङ्ग्रह प्रकाशन गरेर नेपाली गीत सङ्गीत र साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका नन्दनले गजल, कविता तथा अन्य काव्यमा कलम चलाउनुभएको छ । उहाँका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् ।
उहाँका गिती सङ्ग्रह अञ्जली २०२३, सपनीबाट ब्यूँझेर २०२३, विपनीका पाइलाहरू २०५२, ऐनाभित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काव्य २०७४ र पत्रम् पुष्पम् कविता सङ्ग्रह २०७७ प्रकाशित भएका छन् ।
यस्तै राष्ट्रिय गान छनोटका क्रममा उहाँको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो । अनौपचारिक शिक्षा आर्जन गरेर गीत सङ्गीत र साहित्यमा लाग्नुभएका नन्दन गायक, सङ्गीतकार तथा कलाकार पनि हुनुहुन्थ्यो ।
१९९२ साल जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मनुभएका नन्दन पछि बसाइँ सरेर चितवनको नारायणगढ आउनुभएको हो । उहाँले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७, गीतकार सङ्घ नेपालले प्रदान गर्ने अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान २०७६ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ ।
कवि नन्दनको पार्थिव शरीरको धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।