गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित नेपाली टेलिभिजन दर्शकमाझ चाँडै नै एक नयाँ कार्यक्रम आउन लागेको छ । मूनलाइट मोसन पिक्चर्सले प्रस्तुत गर्ने टेलिभिजन कार्यक्रम ‘कठघरा’ तिहार लगत्तै प्रसारण हुने भएको हो ।
कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग रहनेछन् । ‘कठघरा’ नामले नै जनाएझैँ, यस कार्यक्रमले राजनीतिक, सामाजिक तथा कला क्षेत्रमा विशिष्ट योगदान र ख्याति कमाएका व्यक्तित्वलाई ‘कठघरा’मा उभ्याउनेछ । यहाँ पाहुनाहरूका जीवन, विचार, योगदान र विवादसम्मलाई खुलेर प्रस्तुत गरिनेछ । कार्यक्रमको उद्देश्य व्यक्तित्वका उपलब्धि मात्र नभई उनीहरूको सार्वजनिक जीवनसँग गाँसिएका प्रश्न र आलोचनाहरूसमेत निर्भीक ढङ्गले उजागर गर्नु हो ।
यस कार्यक्रमलाई नेपाली सञ्चार जगतका दमदार हस्ती टीकाराम यात्रीले सञ्चालन गर्नेछन् । पत्रकार, टेलिभिजन प्रस्तोता तथा लेखकका रूपमा परिचित यात्री समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आधारित कार्यक्रम सञ्चालनका लागि प्रसिद्ध छन् । सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका सवालमा धारिलो विचार प्रस्तुत गर्दै आएका उनले यसअघि पनि लोकप्रिय टक शोहरू सञ्चालन गरिसकेका छन् । विश्लेषणात्मक प्रस्तुतिका कारण उनलाई नेपाली पत्रकारितामा एक बौद्धिक अनुहारका रूपमा लिइन्छ ।
कार्यक्रमको निर्देशन भने नेपाली मनोरञ्जन क्षेत्रका बहुमुखी निर्देशक अमन प्रताप अधिकारीले गर्नेछन् । ‘हिमालय रोडिज’, ‘को बन्छ करोडपति’, ‘ऐना’, ‘कृपा अनप्लग्ड’ जस्ता चर्चित कार्यक्रम निर्देशन गरेर ख्याति कमाएका अधिकारी पछिल्लो समय कविता रियालिटी शो ‘पोएट आइडल’ का निर्देशकका रूपमा सक्रिय छन् । टेलिभिजन मात्र होइन, उनी पूर्व ए डिभिजन फुटबल खेलाडी तथा कमेन्टेटरसमेत हुन् । स्कटल्यान्डको एडिनबर्ग कलेजबाट फिल्ममेकिङ र टेलिभिजन प्रोडक्सनमा डिप्लोमा गरेका अधिकारी प्रख्यात कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीका सुपुत्र हुन् ।
कार्यक्रमका निर्माता सन्तोष भण्डारी रहेका छन् । उनले यो कार्यक्रमलाई दर्शकसम्म शक्तिशाली प्रस्तुतिका साथ पुर्याउने विश्वास व्यक्त गरेका छन् । ‘कठघरा’ एपि वन टेलिभिजनमार्फत प्रसारण हुनेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।