फूलपातीको दिनदेखि प्रदर्शनमा आएको फिल्म 'माइतीघर' को भिडिओ प्रतियोगीताको विजेता घोषणा गरिएको छ ।
बुटवलका सुरज सिंजाली मगर र बुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूह भिडिओ प्रतियोगीताको विजेता बनेका हुन् । दुवैले समान अंक ल्याएका कारण दुवैलाई विजेता घोषणा गरिएको निर्माणपक्षले बताएको छ।
विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा यसको निर्माणपक्षले गरेको थियो । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार, अब सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बालिकाहरू दुवैलाई २ लाख ५० हजार रूपैयाँ पुरस्कार दिइनेछ ।
फिल्मको शीर्षक गीत 'बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर' मा भिडिओ प्रतियोगीता आयोजना गरिएको थियो । विजेताहरूको भिडिओ फिल्ममा समेत समावेश गरिएको छ। यो गीतमा भिडिओ तयार पारेका हजार भन्दा बढीबाट २ जनालाई विजेता घोषणा गरिएको हो। निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट गरेका हुन् ।
मिलन तामाङको निर्देशनमा तयार 'माइतीघर' सोमबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दैछ । फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय छ ।